काठमाडौं। दार्जिलिङको छुकछुके रेल तथा जनकपुरको भकभके रेल मात्र देखेका काठमाडौं महानगरवासीले अव निश्चित रुपमा मोनोरेल चढ्न पाउने भएका छन्। त्यसको लागि आवश्यक डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) तयार पार्न संझौता भएको छ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चुनावताका काठमाडौं महानगरवासीलाई देखाएको मानोरेल चढाउने सपना यो संझौताले साकारता प्रदान गर्ने भएको हो। चीन सरकारको लगानी रहेको चाइना रेलवे २५ औं व्युरो ग्रुप कंपनीले काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकासंग संयुक्त रुपमा डीपीआर संझौता गरेको छ।

बुधवार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले चीनिया कंपनीसंग संयुक्त रुपमा हस्ताक्षर गरेर डीपीआर संझौता गरेका छन्।

१ खर्ब १६ अर्ब रकम लागत लाग्ने जनाइएको मोनोरेलको लागि आवश्यक संपूर्ण खर्च चीन सरकारले नै व्यहोर्ने गरेर काम गर्न लागेको कारण स्थानीय, प्रदेश तथा नेपाल सरकारलाई कुनै भार नपर्ने खुलासा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गरेका छन्।

आफूहरुको कार्यकालभित्र नै काठमाडौं उपत्यकाको रिङरोडमा मोनोरेल गुडाएरै काठमाडौं महानगरवासीलाई ठूलो राहत दिने पनि मेयर शाक्यले भनेका छन्। मोनोरेल आएपछि काठमाडौं महानगरमा विद्यमान धुंलो–धुंवा तथा ट्राफिक जाम हट्ने तथा सडक विस्तारका नाममा महानगरवासीका घर–टहरा भत्काउन नपर्ने नयाँ युगको शुरुवात हुने पनि मेयर शाक्यले स्पष्ट पारेका छन्।

काठमाडौं उपत्यकामा रिंङरोड २७ दशमलव ४ किलोमिटरको दूरी रहेको छ। त्यस दूरीमा ललितपुर महानगरपालिकाको भू–भाग करिब १० किलोमिटर परेको छ। बाँकी सवै भू–भाग काठमाडौं महानगरपालिकाभित्र परेका छन्। यस हिसावले मोनोरेलको अगुवाई ललितपुर महानगरपालिकासंगको सहकार्यमा काठमाडौं महानगरपालिकाले गर्दैआएको छ। यसका लागि रिङरोड वरपर रहेका अन्य नगरपालिकासंग पनि सहकार्य गर्ने पनि मेयर शाक्यले बताए।

काठमाडौं महानगरमा मोनोरेल सम्भाव्यता अध्ययनका लागि २०७५ बैशाख २० गते आशय पत्र बुझाएको चीनिया कम्पनीसँग महानगरले जेठ ११ गते सम्झौता गरेको थियो । सम्झौताबमोजिम डीपीआर अध्ययन गर्न ६ महिनाको समय दिइएको थियो तर कम्पनीले तोकिएको समयभन्दा ३ महिना अघि नै अध्ययन सम्पन्न गरेको हो । रिङरोडको बर्तमान अवस्था आँकलन गरि ३ चरणमा निर्माणका काम गर्दा उपयुक्त हुने सम्भाव्यता अध्ययनले देखाएको छ ।

कोटेश्वरदेखि कलंकी खण्डमा पहिलो चरणमा, कलंकीदेखि महाराजगञ्जसम्म दोश्रो चरणमा र महाराजगञ्जदेखि कोटेश्वरसम्म तेश्रो चरणमा कार्य प्रारम्भ हुने भएको छ।


प्रकाशन मिति–२०७५ साल पुष ५ गते विहीवार ।