काठमाडौं। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले काठमाडौँ महानगरपालिकाले कोरोनाको महामारीमा गरेको कार्यको मुक्तकण्ठले तारिफ गरेका छन्।

नेपालको पहिलो तथा जेठो महानगरपालिका हुनुको गौरबतालाई कायम गरेर लकडाउनका बेला ७७ जिल्लाका नागरिकलाई काठमाडौं महानगरले गरेको सहयोग अनुकरणिय भएको भन्दै काठमाडौंको परम्परागत कृषि, कला र कलाकारिता विश्वकै अनुपम रहेको मन्त्री त्रिपाठीले खुलासा गरे ।

अन्य स्थानीय तहका लागि पनि काठमाडौं महानगर सिकाइको माध्यम भएकोले यसतर्फ राजनीतिक विकास गर्न आवश्यक भएको पनि राय व्यक्त गरेका छन्। काठमाडौं महानगरपालिकाको २६औँ महानगर दिवसका अवसरमा सोमवार आयोजित कार्यक्रममा मन्त्री त्रिपाठीले काठमाडौं महानगरपालिका जेठो महानगर भएकाले यसले नै अन्य स्थानीय तहलाई राजनीतिक रुपमा नै सकारात्मक बाटो देखाउनुपर्ने कुरामा जोड दिएका छन्।

उक्त अवसरमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौं महानगरपालिकाले गर्नुपर्ने काम अझै धेरै रहेको जनाउँदै अन्य स्थानीय तहलाई उदाहरण मिल्ने गरी काम गर्नुपर्ने धारणा राखेका छन्। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरको आर्थिक समृद्धिका लागि सबैको साथ र सहयोग आवश्यक रहेको औँल्याएका छन्। मेयर शाक्यले काठमााडौंको पहिचान र संरक्षण अहिलेको आवश्यकता हो भनेका छन्।

पछिल्लो समय शहरमा मिर्गौला रोगीको सङ्ख्या बढिरहेकाले काठमाडौं महानगरपालिकाले २६ औं महानगर दिवसका अवसर पारेर ‘मिर्गौला बचाउ अभियान’ घोषणा गरेको छ। काठमाडौं महानगरपालिकाका ३२ वटै वडाहरु मार्फत मिर्गौला जाँच परिक्षण गरेर मिर्गौला बचाउ अभियानको कार्य थालनी गर्ने जानकारी महानगरका प्रमुख कार्यकारी अधिकृत राजेश्वर ज्ञवालीले वताएका छन्।

Mahangar Day 2077 of Kathmandu Metropolitan City.  Photo By-Vision Sansar.

प्रकाशन मिति–२०७७ साल मंसीर २९ गते सोमवार ।