काठमाडौं। विश्वभर कोरोनाभाइरसको महामारीको वर्तमान अवस्थामा सेनिटाइजर टनेलको आवश्यकता नै महशुश गरेर त्यसको स्थापना गर्ने कार्य भएको छ। काठमाडौं महानगरपालिका वडा नं १५ स्थित स्वयम्भु भुईखेलमा सेनिटाइजर टनेलको स्थापना भएको हो।

काठमाडौं महानगरपालिका वडा नंबर १५ को लगानी र गैर सरकारी संस्था गुथि, निभा रेन र रोटरी न्यूरोड क्लबको प्राविधिक सहयोगमा निर्मित शरीर निसङ्क्रमण (सेनिटाइजर टनेल) व्दारको शुभारम्भ भएको छ। काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले उक्त सेनिटाइजर टनेलको उदघाटन भएको जानकारी सञ्चारकर्मी विगेन तुलाधरले भिजन संसार डटकमलाई बताएका छन्।

काठमाडौं महानगरपालिका वडा नंबर १५ ले असहाय, विपन्न र दैनिक ज्याला–मजदुरी गरेर खानेका लागि निःशुल्क खाना खुवाउने व्यवस्था गरेको स्थानमा नै सेनिटाइजर टनेल राख्ने उपयुक्त स्थानको रुपमा छनौट गरि अत्यावश्यक कर्मचारीहरुका साथै स्थानीयहरुको स्वास्थ्य र सुरक्षित रहन तथा समय समयमा सेनिटाइज हुनका लागि सेनिटाइजर टनेलको स्थापना गरेको जनाइएको छ।

यस सेनिटाइजर टनेलमा इफेक्टिभ माइक्रो अरग्यानिजम (Effective Microorganism) वा इ.एम. (EM) को झोल स्प्रे गर्छ र शरीर भरि रहेका सुक्ष्म जिवाणुलाई निष्क्रिय पारी जिवाणु रहित बनाउँछ। इ.एम. विभिन्न उपयोगि सुक्ष्म जिवाणुको मिश्रण भएको झोल हो जसले हानीकारक सुक्ष्म जिवाणुहरुलाई नष्ट गर्छ। अन्य किटाणु नासक रसायनले जस्तो इ.एम.को नकारात्मक असर मानब स्वास्थ्यमा हुँदैन।

हाल उपत्यकाका विभिन्प स्थानमा किटाणु नासक रसायन छर्ने काम भइरहेको छ। ठाउँ ठाउँमा व्लिचिङ्ग पाउडर, मालाथिन र क्लोरिन छर्किने कार्य अझै पनि जारी छ। तर रसायनिक विषादिको प्रयोगले वातावरण तथा मानव स्वास्थ्यमा नकारात्मक असर पर्दछ। यसले मानिसको छाला, आँखा, नाक, घाटी र श्वास प्रश्वास प्रणालीमा असर गर्नुका साथै विभिन्न स्वास्थ्य समस्या जस्तै क्यान्सर, दम जस्ता रोगको कारक बन्न सक्दछ।

चीनमा पनि सुरु सुरुमा व्यापक रुपमा किटाणु नासक रसायन छरिए पनि यसले सकारात्मक भन्दा नकारात्मक असर बढि देखाएपछि चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले यसलाई रोक्ने निर्देशन दिएको थियो।
इ.एम. रिसर्च अर्गनाइजेशन जापानका प्रोफेसर हिगाले किटाणु नासक रसायनको सट्टामा इ.एम. प्रयोग गर्दा राम्रो हुने कुरा बताएका छन्।

पहिलेको अनुसन्धानले पनि इ.एम. ले इन्फ्लुएन्जा हरपिज तथा विभिन्न अरु भाइरसका विरुद्व इ.एम एक प्रभावकारी प्रकृतिक किटनासक भएको पुष्टि गरेको छ। PH3.5 भन्दा कमको अम्लिए इ.एम. झोलले भाइरसलाई एकै क्षणमा निष्क्रिय पार्छ र हानीकारक जिवाणु उत्पन्न हुन बाट रोक्छ। यो झोल चीनको
वुसान शहरमा पनि कोभिड–१९ विरुद्व निसङ्क्रमणको रुपमा प्रयोग भइसकेको छ। यसले मानव र वातावरणमा पनि नकारात्मक असर नहुने र यसले झन उपयोगी जिवाणुलाई बढ्न मद्दत गरेर वातावरण स्वच्छ र स्वास्थ्य राख्न सहयोग गर्दछ।

हाल कोभिड–१९ बाट बच्ने सवैभन्दा प्रभावकारी उपाय भनेको सावुनले कम्तिमा २० सेकेण्ड सम्म मिचि-मिचि हात धुनु रहेको छ। तर कोभिड–१९ भाइरस विभिन्न सतहमा ३ दिन सम्म बाँच्न सक्ने भएकाले धाराको नल जस्ता सतह संक्रमित भई भाइरस सर्न सक्ने सम्भाव्यतालाई न्यूनिकरण गर्न स्पर्श रहित हात धुने स्टेशनको स्थापना गरिएको छ।

अहिले लक डाउनको बेलामा पनि अत्यावश्यक कार्यमा निस्कने कर्मचारीहरु र सर्वसाधारणका लागि स्पर्श रहित हात धुने स्टेशन प्रभावकारी रहने अपेक्षा गरिएको छ। यस संयन्त्रलाई खुट्टाले प्याडललाई दबाएपछि धाराबाट पानी झर्ने र छोडेपछि बन्द हुने हुन्छ। यो स्पर्श रहित हात धुने प्रविधि वाटर एड नेपालद्वारा निर्माण गरिएको हो।

काठमाडौं, ललितपुर, कीर्तिपुर र मध्यपुर ठिमी नगरपालिकाहरुसंगको सहकार्य र वाटर एड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा गुथि नामक गैर सरकारी संस्थाले उपत्यकाका चार वटै नगरपालिकामा ५० वटा स्पर्श रहित हात धुने स्टेशन राख्ने कार्यको पनि शुभारम्भ भएको छ।


प्रकाशन मिति–२०७७ साल बैशाख १२ गते शुक्रवार ।