काठमाडौं । काठमाडौं महानगरपालिकाको राजपत्राङ्कित बिशिष्ट श्रेणीको प्रमुख प्रकासकीय अधिकृत पदमा एकनारायण अर्यालको बहाली भएको छ। आज सोमवार अर्यालको बहाली भएको हो।

नेपाल सरकार, मन्त्री परिषद्को फागुन १८ गते बसेको बैठकले अर्याललाई प्रशासन सेवातर्फ राजपत्राङ्कित बिशिष्ट श्रेणीमा बढुवा गरेर काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा पदस्थापन गर्ने निर्णय गरेको थियो। यस अघि अर्याल नेपाली महाबाणिज्य दूताबास कोलकत्तामा महावाणिज्यदूतका रुपमा कार्यरत थिए।

विसं.२०४६ सालमा प्रशासन सेवातर्फ नायबसुब्बा पदबाट निजामति सेवामा प्रवेश गरेका अर्याल विसं.२०५१ सालमा अधिकृत, २०५८ सालमा उपसचिव, २०६७ सालमा सहसचिव हुँदै २०७६ सालमा सचिव पदमा बढुवा भएका हुन। विसं.२०७२ सालको महाभूकम्पका समयमा अर्याल काठमाडौंको प्रमुख जिल्ला अधिकारी थिए।

पदबहाली गर्दै प्रमुख प्रशासकीय अधिकृत अर्यालले चुस्त सेवा र भ्रष्टाचार शुन्य सहनशीलता आफ्नो प्रमुख मार्ग भएको बताएका छन्। जनताका आवश्यकता र जनप्रतिनिधिका योजनालाई सूचना प्रबिधिकोमाध्यमबाट व्यवस्थित गराउने आफ्नो चाहना भएको पनि भनेका छन्।

त्यस क्रममा काठमाडौं महानगरपालिकाका सहसचिव राजेश्वर ज्ञवालीले काठमाडौं महानगरमा दक्ष कर्मचारी भएकोले नेतृत्वलाई लक्ष्य हासिल गर्न सहज वातावरण भएको उल्लेख गरेका छन्। काठमाडौं महानगरपालिकामामा १८ सयभन्दा बढी कर्मचारी छन्। ५९ जना निजामती सेवाबाट समायोजन भएर आएका छन्।

समायोजनबाट स्थानीय सेवामा काम गर्नेलाई उति उत्साह नदेखिएको बताउंदै महानगरको वर्तमान अवस्था र क्षमताका विषयमा जानकारी दिँदै प्रशासन बिभागका प्रमुख नमराज ढकालले अहिले महानगरको मुख्य काम भनेको कोभिड संक्रमण रोकथाम र नियन्त्रण नै भएको बताए ।

वडाबाट अहिले राहत वितरणको काम भइरहेको जानकारी दिदै प्रशासन विभाग प्रमुख ढकालले राहतका लागि कार्यपालिकाले मापदण्ड स्वीकृत गरेको तथा सोही बमोजिम काम भैरहेको पनि भने । Photo By-Chandra Mani Bhattarai_KMC


प्रकाशन मिति–२०७६ साल चैत २४ गते सोमवार ।