काठमाडौं। काठमाडौं महानगरमा बढ्दो सवारी साधनको कारण अचाक्ली ट्राफिक जाम हुन थालेपछि यसलाई न्यून गर्न पिकअप एण्ड ड्रपको सिस्टम शुभारम्भ गरिएको छ। काठमाडौं महानगरपालिकाको अगुवाईमा काठमाडौं महानगरको टुंडिखेल, भद्रकाली, रत्नपार्क, भोटाहिटी तथा जमल वरपर यो सिस्टमको आज पुष १ गतेवाट शुरु भएको हो।

यस क्षेत्रमा काठमाडौँ महानगरपालिकाले सार्वजनिक सवारी साधन रोकेर राख्न नपाउने व्यवस्था गरेको छ। सार्वजनिक सवारी साधन एकै स्थानमा लामो समय रोकेर राख्दा जामको समस्या बढ्नाका साथै वातावरण प्रदूषण हुने भएकाले काठमाडौं महानगरपालिकाले यस किमिसको व्यवस्था शुरु गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ।

काठमाडौं महानगरको मुख्य स्थान मानिने र लामो वा छोटो दूरीका सार्वजनिक सवारी साधन रोकेर राख्ने स्थान टुँडिखेल आसपास नै रहेकाले यस किसिमको व्यवस्था गरिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताएका छन्।

प्रवक्ता डङ्गोलका अनुसार पहिलो चरणमा यी स्थानमा यस किसिमको नियमको शुरु गरी प्रभावकारी बनाउने र अबको केही महीनाभित्र काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा उक्त व्यवस्था लागू हुनेछ। पिकअप एण्ड ड्रप सिस्टममा यात्रुलाई ओराल्ने र बसाल्ने हो।

यस सिस्टममा पहिला जस्तो कुनैपनि सार्वजनिक सवारी साधनमा यात्रु नभरेसम्म यात्रुलाई कुरेर बस्न पाइदैन। कुनै पनि सवारी साधनले यसअघि जस्तो लामो समय रोकेर राख्ने र अर्को सावरी साधन नआउन्जेलसम्मका लागि भन्दै अटेर गरे महानगरीय ट्राफिक प्रहरीले कारवाहीको प्रक्रिया अघि बढाउने जनाएको छ।

प्रकाशन मिति–२०७५ साल पुष १ गते आइतवार।