काठमाडौ। यही भदौ १४ र १५ हुने बहुपक्षीय प्राविधिक तथाआर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलन काठमाडौमा हुने भएको छ।

नेपाल, भारत, श्रीलंका, थाइल्याण्ड, भुटान, बंगलादेशका राष्ट्रप्रमुख तथा राष्ट्राध्यक्षहरुको सहभागिता हुने भएकोले काठमाडौ उपत्यकाको सवारी आगमनलाई न्यून गर्न जोर र बिजोर नम्बर प्लेटका आधारमा सवारीसाधन चलाउन दिने निर्णय गरेको छ। शुक्रबार गृहमन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो निर्णय गरेको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख बसन्त पन्तका अनुसार बिमस्टेक सुरु हुने अघिल्लो दिन अर्थात भदौ १३ देखि १५ गतेसम्म यो नियम लागू हुनेछ। उनका अनुसार उपत्यकामा १३ र १५ गते बिजोर नम्बर प्लेटका सवारीसाधन गुडाउन पाइनेछ भने १४ गते जोर नम्बर प्लेटका गाडी गुडाउन पाइने छ।

सम्मेलनमा सहभागी हुन आएका विशिष्ट पाहुनाहरुको सवारी आवागमनको सहजता र सुरक्षाका लागि उनीहरुले प्रयोग गर्ने रुट पूर्ण रुपमा खाली गराइनुपर्ने हुँदा अत्याधिक सवारीसाधनको चाप उपत्यकामा ट्राफिक जामको समस्या नहोस् भनेर यो व्यवस्था गरिएको बताइएको छ।
प्रकाशन मिति–२०७५ साल भदौ ८ गते शुक्रबार ।