काठमाडौ। नेपालको जीवित देवी कुमारीको रथयात्रा हुने इन्द्रजात्राको बेग्लै महत्व तथा परम्परागत पहिचान रहेको छ। यो बर्षको इन्द्रजात्रालाई अझ ऐतिहासिक र मौलिक बनाउन काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको व्यापक सक्रियता देखिएको छ।

यही असोज ८ गते परेको काठमाडौको पहिचान बोकेको इन्द्रजात्रालाई सभ्य तथा भव्य बनाउन मेयर शाक्यले काठमाडौं महानगरपालिकाको तर्फवाट नगद दश लाख सहयोग गरेका छन्। मेयर शाक्यकै सक्रियतामा दुई करोड बराबरको अक्षयकोष स्थापन गर्न काठमाडौ महानगरपालिकाबाट पहल गर्ने पनि भएको छ।

काठमाडौको खुशिबुँस्थित नेपाःव्याक्विटमा आयोजित कार्यक्रममा मेयर शाक्यले उक्त घोषणा तथा प्रतिबद्धता गरेका हुन्। नेपालका राष्ट्र प्रमुखकै उपस्थितिमा मनाइने विश्वप्रसिद्ध यो जात्रालाई काठमाडौमा बस्ने सबै जातजातिको प्रतिनिधि मुलुक संस्कृतिका रुपमा समेत हेरिने गरेको छ। इन्द्रजात्रा जस्ता काठमाडौका ऐतिहासिक धरोहरहरुको संरक्षण तथा जगेर्ना गर्न मेयर शाक्य आफू दत्तचित्त बनेर लाग्ने बताउंछन्।

उक्त कार्यक्रममा प्रतिनिधिसभाका सांसद् कृष्णगोपाल श्रेष्ठ, प्रदेश सभासदहरु डाक्टर अजयक्रान्ति शाक्य, बसन्त मानन्धर, राजेश शाक्य पनि सहभागिता रहेको थियो। सांसद तथा प्रदेश सभासद सवैले सबै जातजातिको पर्व इन्द्रजात्राको महत्व तथा गरिमालाई बढाउनु पर्ने कुरामा जोड दिएका थिए।
प्रकाशन मिति–२०७५ साल भदौ ९ गते शनिवार ।