काठमाडौं । काठमाडौं जिल्लाका नगरपालिकाबीच नगर साझेदारी बैठक सम्पन्न भएको छ। काठमाडौ महानगरपालिका (कामपा) ले काठमाडौं जिल्लाका नगरपालिकाहरुलाई सोमवार वोलाएर नगर साझेदारी बैंठक संपन्न गरेको हो।

बैठकमा काठमाडौं महानगरले काठमाडौं जिल्लाका नगरपालिकाहरुको हरियाली प्रवद्र्धन, पार्क निर्माण र सार्वजनिक जग्गा संरक्षण शीर्षकमा दिने रकम लिने तरिका, यसको खर्च गर्ने विधि, परिमाण मापन सूचकजस्ता विषयमा छलफल गरेको थियो । महानगरसँग सिमाना जोडिएका नगरहरुसँग सिमानामा सञ्चालन गर्नुपर्ने साझा योजना र सिमाना नजोडिएका नगरहरुलाई महानगरसँग जोड्ने योजना पनि बैठकका मुख्य विषय थिए ।

बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले काठमाडौं जिल्लाको विकासलाई छुट््याएर हेर्दा परिणाम नआउने बताउंदै प्रशासनिक रुपमा सिमाना लगाइएपनि विकास र समृद्धिका कोणबाट एकीकृत बिकास गर्नुपर्ने कुरामा जोड दिएका छन्। यसमा महानगर हुनुको नाताले काठमाडौं महानगरपालिकाले सबैलाई सँगै लिएर एकीकृत रुपमा साझेदारी कार्य गर्ने मेयर शाक्यलृ भनेका छन्। यसै साझेदारी कार्यक्रम अन्तर्गत गत असार २० गते टोखा नगरपालिकालाई नगर—नगर साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौ महानगरपालिकाले १ करोड रुपैयाँ उपलब्ध गराइसकेको जानकारी पनि मेयर शाक्यले बैठकमा दिएका छन्।

साझेदाारीताको प्रसङ्गमा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीले पछिसम्म भोग गर्न मिल्ने र नागरिकले महसुस गर्ने बिकासको प्रारुप तयार पार्न पनि साझेदारीताको महत्ब धेरै भएको दावी गरेकी छन्। बैठकमा महानगरसँग साझेदारीता गर्न कीर्तिपुर नगरपालिकाले राष्ट्रिय संग्रहालय, दक्षिणकाली नगरपालिकाले माथिल्लो पुरानो दक्षिणकालीलाई तीर्थका रुपमा विकास गर्ने योजना अघि सारेका छन्।

त्यस्तै शंकरापुर नगरपालिकाले बज्रयोगिनी मन्दिर क्षेत्रको पर्यटकीय एवं सांस्कृतिक विकास, गोकर्णेश्वर नगरपालिकाले उत्तरगयालाई धार्मिक धाम बनाउने, बुढानीलकण्ठ नगरपालिकाले पर्यावरणीय पार्क (इको पार्क) बनाउने, नागार्जुन नगरपालिकाले वडा ७ को सामुदायिक बनमा स्वीजरल्याण्ड पार्क बनाउने योजना अघि सारेका छन् ।

त्यस्तैगरेर, कागेश्वरी–मनोहरा नगरपालिकाले हरेक वडामा एउटा पार्क बनाउने योजना र महानगरबाट प्राप्त हुने रकम मिलाएर ठूलो योजना बनाउने प्रस्ताव अघि सारेको छ । तारेकश्वर नगरसँग महानगरले फोहोर व्यवस्थापनका क्षेत्रमा पनि साझेलदारीता गर्नु पर्नेछ । हुनत अन्य नगरको फोहोर व्यवस्थापनमा पनि महानगरको नेतृत्व चाहिन्छ र फोहोर बोकेर ल्याण्डफिल्ड साइट पुर्याउने सडक तारकेश्वर नगरहुँदै जाने भएकोले यस बिषयमा गहकिलो साझेदारीता चाहिने तारकेश्वर नगरका मेयर रामेश्वर बोहोराको भनाई रहेको छ।

महानगरले दिने यस प्रकारको रकम तोकिएको शीर्षकमा प्रचलित कानुनी व्यवस्था अनुसार खर्च गर्नुपर्छ । बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले अन्तिम लेखा परीक्षणका क्रममा यसको परिणाम सम्बन्धित नगरले देखाउनु पर्ने बताएका छन् ।

बैठकमा, योजनामा पैसा खर्च गर्ने प्रचलित बिधि, परिणामभन्दा प्रक्रिया खोज्ने खालको भएकोले यस प्रकारको झन्झट कम गराउने नीति लिनु पर्ने, महानगरले नगरपालिकालाई दिने कुरा सँगै छिमेकी नगरले महानगरको समृद्धिका लागि के गर्न सकिन्छ भन्ने बिषयमा पनि प्रमुखताकासाथ छलफल भएको थियो।


प्रकाशन मिति–२०७५ साल पुष १० गते मंगलवार ।