काठमाडौ। पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई अदालतले सोमबार सात वर्षको जेल सजायको फैसला सुनाएको छ। भ्रष्टाचारसम्बन्धी मुद्दाका कारण यसअघि देखि नै थुनामा रहेका सरिफलाई अदालतले सोमबार अन्तिम फैसला गर्दै जेल सजाय तोकेको हो।

पाकिस्तानमा तीन पटक प्रधानमन्त्री बनेका सरिफले भने आफूमाथि लागेका भ्रष्टाचारसम्बन्धी सबै आरोपहरूको खण्डन गरेका छन् । उनले पाकिस्तानमा प्राय हाबी हुने शक्तिशाली सुरक्षा निकायले पूर्वाग्रहपूर्वक आफूमाथि भ्रष्टाचारको मुद्दा लगाएको र यसको प्रभाव अदालतहरूमा समेत परेको आरोप लगाउँदै आएका छन्।

सोमबारको फैसलामा राज्य शक्ति र स्रोतको दुरुपयोग गरेर मध्यपूर्वमा परिवारको तर्फबाट व्यापार गरेको र त्यसमा अनियमितता भएको भेटिएको उल्लेख छ ।

पाकिस्तानी राज्यद्वारा सञ्चालित टेलिभिजनले उनलाई अदालतले १५ लाख पाकिस्तानी रुपैयाँ जरिवाना समेत तोकेको समाचार प्रसारण गरेको छ। थुनामा रहेका सरिफलाई अब लाहोरस्थित जेलमा लगिने अधिकारीहरूले जनाएका छन्।
पाकिस्तानमा गत जुलाईमा भएको आम निर्वाचनका लागि लन्डनबाट पाकिस्तान फर्केका सरिफ सहित उनकी छोरी पक्राउ परेकी थिइन् ।

(समाचार एजेन्सीको सहयोगमा)

प्रकाशन मिति–२०७५ साल पुष १० गते मंगलवार ।