काठमाडौं। विश्वको उच्च शिखर सगरमाथा आरोहणको कीर्तिमान राख्ने कार्यमा थप नयाँ कीर्तिमान कायम भएको छ। नेपाली आरोही कामिरिता शेर्पाले २५ औँ पटक विश्वको उच्च शिखर सगरमाथाको चुचुरोमा पुगेर शुक्रवार आफ्नै कीर्तिमान तोडे्र थप नयाँ कीर्तिमान कायम गरेको हो।

यो वर्ष वसन्त ऋतुको पहिलो आरोहणका रुपमा कामिरिता सहित १२ जनाले सगरमाथाको चुचुरोमा टेकेका हुन् । कामिरिता शेर्पाले सगरमाथाको चुचुरोमा डोरी टाँग्ने टोलीको नेतृत्व लिएका थिए।

कामिरिता शेर्पाले पहिलो पटक सन् १९९४ मा सगरमाथा आरोहण गरेका थिए । त्यसबाहेक कामिरिताले पाकिस्तानको केटु हिमाल, नेपालकै ल्होत्से, मनास्लु, चोयु हिमाल आरोहण गरिसकेका छन्।

कामिरिताले ८ हजार मिटरमाथिको हिमाल धेरै पटक आरोहण गर्नेमा समेत कीर्तिमान कायम गरिसकेका छन्। पर्यटन विभागका अनुसार यो वर्ष सगरमाथा आरोहणका लागि ४ सय बढी आरोहीले अनुमति पाएका छन्।


प्रकाशन मिति–२०७८ साल बैशाख २५ गते शनिवार ।