काठमाडौं। नेपाली गीत–संगीतको अमर स्वररत्न प्रेमध्वज प्रधानको विहीवार अर्थात विसं.२०७८ बैशाख २३ गते दुःखद स्वर्गारोहण भयो। ८५ बर्षको उमेरमा हर्ट अटेकको कारण स्वर्गवास भएका अमर स्वररत्न प्रेमध्वज प्रधानको शबयात्रामा स्वरसम्राट नारायण गोपालको स्वर्गवास भएको समयमा जस्तै विशाल सम्मान पाउने अपेक्षा गरिएको थियो।

तर, कोरोना महामारीको विशाल चपेटाको मारले त्यो विशाल सम्मान स्वररत्न प्रेमध्वज प्रधानले पाउन सकेन। स्रष्टा सर्जक देखि राजनीतिज्ञहरु तथा सर्वसाधारणसम्म पनि चाहेर पनि कोरोनाको कहरका कारण पशुपति आर्यघाटमा पुग्न पाएन।

नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान र संगीतकार संघ नेपालका संरक्षक लक्ष्मण शेषको संयोजनमा साधना कला केन्द्रका प्रवन्ध निर्देशक आशा गौतम, रेक्स फेसन होमका अध्यक्ष खगेश रञ्जितकार, बरिष्ठ छायाँकार एवम् चलचित्रकर्मी मञ्जु कुमार श्रेष्ठ लगायतका सिमित स्रष्टा तथा सर्जकको उपस्थितिमा विहीवार नै स्वररत्न प्रेमध्वज प्रधानको दाहसंस्कार गरिएको थियो।

स्रष्टा तथा सर्जकको अगुवाई संगीत–नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति तथा नेपाली गीत–संगीतका संगीतरत्न एवम् मेलोडी किङ शंभुजीत बासकोटावाट भएको थियो। कठिन समयमा पनि स्रष्टाको सम्मान प्रदान गर्न संगीतरत्न बासकोटाको उपस्थिति सारा संगीत सर्जक–स्रष्टाहरुको उपस्थितिको रुपमा स्रष्टाहरुले लिएका छन्।

त्यस्तै, नेपाल सरकारका तर्फवाट शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरको मात्र उपस्थिति रहेको थियो। कोरोनाको महामारीको कठिन समयमा पनि स्रष्टा तथा सर्जकले गर्नुपर्ने कर्तव्य आफूले पूरा गर्न पाउंदा अत्यन्त गौरब लागेको संगीतरत्न बासकोटाले भिजन संसार डटकमलाई बताएका छन्।

संगीतरत्न बासकोटाको नजरमा प्रेमध्वज प्रधान नेपाली गीत–संगीतका अमर स्वररत्न भएर सदा बाँचिरहने छन्। स्रष्टा र सर्जकको भौतिक शरीर वितेर गएपनि उनका स्वर तथा सिर्जना कहिलेपनि मर्दैन। अव प्रेमध्वज प्रधान अमर स्वररत्न बनेका छन्।
प्रकाशन मिति–२०७८ साल बैशाख २५ गते शनिवार ।