काठमाडौं। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको उपचारका लागि प्रभावकारी हुने औषधि पत्ता लागेको दावी गरेका छन्। व्हाइटहाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले औषधि उत्पादक कम्पनी फाइजरले कोरोनाभाइरसको संक्रमण फेरि फैलिन नदिन प्रभावकारी हुने औषधि उत्पादन गरेको बताएका हुन्।

औषधिको मानिसमा परीक्षण हुन बाँकी रहेको र चाँडै मानवीय परीक्षण गरिने जानकारी ट्रम्पले दिएका छन्। ट्रम्पले अहिले त्यसको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले परीक्षण गरिरहेको पनि भनेका छन्।

कोरोनाभाइरसको संक्रमण निको भएकामा फेरि संक्रमण फैलिएका भने चिन्तामा परेकाहरुलाई यो खुशीको खबर हो। ट्रम्पले कोरोनाभाइरसको उपचारमा मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीन प्रभावकारी हुने भन्दै उक्त औषधि पठाउन भारतसँग आग्रह नै गर्दै आएका छन्।

ट्रम्पले अमेरिकामा २० लाखभन्दा बढी व्यक्तिको कोरोनाभाइरस परीक्षण गरिएको दाबी पनि गरेका छन्। अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १६ हजार ६ सयभन्दा बढी भएको छ । बिहीबार मात्रै १७ सयभन्दा बढीको मृत्यु भएको छ। त्यहाँ संक्रमितको संख्या चार लाख ६८ हजार नाघेको छ।
(इमेज खवरको सहयोगमा)
प्रकाशन मिति–२०७६ साल चैत २८ गते शुक्रवार ।