काठमाडौं। विश्वभर फैलिरहेको ‘कोरोनाभाइरस’ संक्रमणबाट बच्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क अर्थात दक्षिण एशियाली देशहरुलाई साझा रणनीति बनाउन अपिल गरेका छन्। शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् मोदीले कोरोनाभाइरसविरूद्ध लड्नका लागि सार्क मुलुकहरूले बलियो रणनीति बनाउनुपर्ने प्रस्ताव अघि सारेका हुन्।

मोदीले भिडिओ कन्फरेन्समार्फत् आवश्यक रणनीतिहरु आदान–प्रदान गरेर यस क्षेत्रका नागरिकलाई सुरक्षित राख्न सकिने पनि बताएका छन्। संकटको बेला सँगै उभिएर दुनियाँलाई उदाहरण पेश गर्न सकिने र विश्व स्वास्थ्यका लागि योगदानसमेत गर्न सकिने भारतीय प्रधानमन्त्री मोदीले उल्लेख गरेका छन्।

भारतमा शुक्रबारसम्म कोरोनाभाइरसबाट ७५ जना संक्रमित भएका छन् भने १ जनाको मृत्यु भएको छ। दक्षिण एशियाली क्षेत्रका ८ मुलुकमध्ये नेपालमा अहिलेसम्म यो भाइरस १ जनामा देखिएकोमा उनी निको भइसकेका छन्।
प्रकाशन मिति–२०७६ साल फागुन ३० गते शुक्रवार ।