काठमाडौं। नेपालमा लोडसेडिङ हटाएर व्यापक चर्चा तथा मान–सम्मान पाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि भ्रष्टाचारको गंभीर आरोप लागेको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङमाथि संसदको सार्वजनिक लेखा समितिले भने भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाएको हो।

लेखा समितिद्वारा गठित उपसमितिले प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक घिसिङ र पूर्व कार्यकारी निर्देशक मुकेश काफ्लेसहितका पदाधिकारीविरुद्ध ९ अर्ब घोटाला गरेको अभियोगमा छानबिन गरी मुद्दा चलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।

डेडिकेटेड फिडर र ट्रंक लिंकमा भएको अनियमितताबारे छानबिन गर्न गठित अध्ययन उपसमितिका संयोजक मिनेन्द्र रिजालले नेपाल विद्युत प्राधिकरणको वर्तमान र पूर्वसञ्चालक समितिका पदाधिकारीविरुद्ध ९ अर्ब घोटालामा मुद्दा चलाउन सिफारिस गरिएको जानकारी दिएका छन्।उपसमितिले आफ्नो प्रतिवेदन शुक्रबार मूल समितिमा पेश गरेको हो।

रिजालको संयोजकत्वमा गठित पाँच सदस्यीय अध्ययन उपसमितिमा सांसदहरु तेजुलाल चौधरी, प्रदीप यादव, पार्वतीकुमारी विशुंखे र सूर्य पाठक सदस्य थिए। गत साउन ५ गते गठन भएको उपसमितिले डेडिकेटेड फिडर र ट्रंक लिंकमा भएको अनियमतिमताबारे अध्ययन गरेर प्रतिवेदन तयार पारेको हो । प्राधिकरणका पूर्व तथा वर्तमान सञ्चालक समितिका सदस्यहरुसँग पटक–पटक छलफल गरेपछि यो प्रतिवेदन तयार पारिएको जनाएको छ।

नेपालमा अत्याधिक लोडसेडिङ भएका बेला विसं.२०७२ सालमा उद्योगीहरुको आग्रहमा प्राधिकरणले नियमित शुल्कमा थप ६० प्रतिशत शुल्क तिर्ने गरी २० घण्टाभन्दा बढी बिजुली उपलब्ध गराएको थियो। उद्योगहरुले नियमित बाहेकको थप शुल्क नतिरेपछि समितिले छानबिन गरेको हो। प्राधिकरणकै मिलेमतोमा उद्योगीहरुले अतिरिक्त शुल्क नतिरेको दावी समितिको छ।

प्राधिकरणकले चैत २८ गते २०७२ भदौदेखि २०७५ चैतसम्मको छुट विद्युत महसुल बिल बापतको रकम बुझाउन दुई सय ५० भन्दा बढी उद्योगलाई ९ अर्बभन्दा बढीको बिल बुझाएको थियो। प्राधिकरणको पत्रविरुद्ध उद्योगीहरु उच्च अदालत पुगेपनि अदालतले विद्युत प्राधिकरणको विनियमावली अनुसार छुट गर्न नमिल्ने भएकाले तोकिएको महसुल तिर्न आदेश दिएको थियो।

डेडिकेटेड फिडर र ट्रंक लिंकको बक्यौताबारे अध्ययन गर्न ऊर्जासचिव दिनेश घिमिरेको संयोजकत्वमा सरकारले गठन गरेको पाँच सदस्यीय छानबिन समितिले पनि छानबिन गरिरहेको भनिएको छ।
प्रकाशन मिति–२०७६ साल फागुन ३० गते शुक्रवार ।