काठमाडौं। कोरोना भाइरसले चीनमा महामारीको रुप लिन थालेपछि रसुवागढी नाकाबाट चिनियाँलाई नेपाल प्रवेशमा रोक लगाइएको छ।
बुधबारदेखि १५ दिनसम्म रसुवागढी नाकाबाट चिनियाँलाई नेपाल प्रवेशमा रोक लगाइएको गृहमन्त्रालयले जनाएको छ। नेपालबाट चीनतर्फ जान पनि रोक लगाइएको छ।

चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १३२ पुगिसकेको छ। यस्तै पाँच हजार ९७४ जना संक्रमण पुष्टि भएको चीनको राष्ट्रिय स्वास्थ्य संगठनले जनाएको छ। चीन बाहेक कम्तिमा १६ देशमा नोवेल कोरोना भाइरसको संक्रमण भेटिएको छ। गएको डिसेम्बरमा चीनको हुबेइ प्रान्तको वुहानमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको थियो। हाल सो क्षेत्रमा सार्वजनिक यातायात बन्द गरिएको छ।

नेपालमा पनि कोरोना भाइरसका संक्रमण भेटिएको छ। स्वास्थ्य मन्त्रालयले गत माघ १० गते पत्रकार सम्मेलन गरेर नेपालमा एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको जानकारी दिएको थियो।

मन्त्रालयका अनुसार अन्य केही व्यक्तिलाई कोरोनाको संक्रमणको आशंकामा निगरानीमा राखिएको छ। साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्कको समेत स्थापना गरिएको छ।
प्रकाशन मिति–२०७६ साल माघ १५ गते बुधवार ।