काठमाडौं। बञ्चरे डाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइटको पूर्वाधार निर्माण ढिलाइ भएको छ। यसो हुनुको कारण मंगलवार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सोधेका छन्। महानगरको सभा कक्षमा बसेको बञ्चरे डाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माणका सरोकारवाला पक्षसँगको बैठकमा ढिलाइ हुनुको कारण मेयर शाक्यले सोधेका हुन्।

कारण सोध्दै मेयर शाक्यले नीतिगत अप्ठ््यारो भए आफूले जहाँ गएर भए पनि समाधान निकाल्ने बताएका छन्। तोकेको समयमा काम सम्पन्न हुन नसक्नुको कारण र दोष खोजेर पत्ता लगाउनु पर्ने कुरामा जोड दिदै मेयर शाक्यले ल्याण्डफिल्ड साइट बनाउन नीतिमा केही समस्या छ भने कुन तहमा समस्या छ त्यसलाई समाधान गर्ने जिम्मा आफ्नो भयो भनेर भनेका छन् ।

मेयर शाक्यले सहरी बिकास तथा भवन निर्माण बिकागलाई इङ्गित गर्दै भनेका थिए, ‘प्राबिधिक र प्रशासनिक काम तपाईहरुले पूरा गर्नुप-यो’ । कार्य प्रगतिको बिश्वशनीयतामा प्रश्न गर्दै मेयर शाक्यले थपे— ‘तपाईहरुले दिनुभएको सूचनाका आधारमा हामीले हामीले कामको प्रगति सम्बन्धि कुरा गरिरहेका छौं । यदि तोकिएको समयमा काम भएन भने तपाईहरुमाथि हाम्रो बिश्वाश र हामीमाथि जनताको बिश्वाशको अवस्था कहाँ पुग्छ?’

बैठकमा बोल्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का सचिव महेन्द्र गुरागाईँले, फोहोर ल्याण्डफिल्ड साइटको निर्माण सँगसँगै फोहोर उत्पादनको श्रोतमा बर्गीकरण गर्ने बिधिलाई पनि सँगै प्रवर्धन गर्नुपर्ने बताएका थिए। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले अहिलेको ठेक्केदारसँग ठेक्का तोडेर नयाँ ठेक्केदारलाई छोटो बाटोबाट ठेक्का दिएर भए पनि वा अन्य बिकल्प खोजेर भए पनि समयमै काम सक्नु पर्ने जिकिर गरे।

बञ्चरेडाँडाको पूर्वाधार निर्माणमा ठेक्केदारको लापर्वाही रह्यो । अहिलेसम्म भएका कामका बारेमा जानकारी दिँदै सहरी बिकास तथा भवन निर्माण बिभागमा महानिर्देशक मणिराम गेलालले — ठेक्केदारलाई क्लालिटी एस्युरेन्स प्लान (क्युएपि) र मोबिलाइजेसन वापत् लिएको पेश्की रकमको खर्च विवरणसमेत नबुझाएको जानकारी दिएका छन्। गत पुष २२ गते ठेक्केदारले परिवर्तित कार्य तालिका (रिभाइज्ड बर्क सेड्युल) पेश ग-यो । तर, पेश गरेको तालिकाबमोजिम फिल्डमा कामको प्रगति छैन। समय सकिन अब ३ महिना मात्र बाँकी छ। यस अवधिमा निर्माण कार्यको प्रगति करीब ३० प्रतिशत मात्र छ। त्यसैले लक्षित समयमा काम सम्पन्न हुनेमा शंका भएको छ, महानिर्देशक गेलालको भनाइ छ।

मूल ठेक्केदारबाट कार्य प्रगति नभएपछि उपक्रममा रहेका ठेक्केदारलाई काम लगाएर निर्माण कार्य अघि बढाउने बिभागको योजना छ। नियमित २ सिफ्टमा काम गर्ने हो भने १ महिनामा काम सकिन्छ। जेभिमा रहेका ठेक्केदारबाट यही गतिमा काम काम लगाउनुपर्छ, बैठकमा अधिकारीहरुले योजना सुनाएका थिए।

बैठकमा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सहसचिव छवि रिजालले समयमा ल्याण्डफिल्ड साइटको पूर्वाधार तयार गर्न नसक्दा पर्यटन बर्षलाई समेत बाधा पुग्ने बताए। बञ्चरे डाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माण गर्न २०७६ बैशाख २२ गते एक बर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी—कोशी एण्ड न्यौपाने जेभि (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो ।


प्रकाशन मिति–२०७६ साल माघ १४ गते मंगलवार ।