काठमाडौं। विश्वको बैभबशाली मुलुक बेलायत युरोपियन युनियनवाट अलग भएको छ। ४७ वर्षको सम्बन्ध त्याग्दै बेलायत युरोपियन युनियनबाट बाहिरिएको हो।

स्थानीय समय अनुसार गएराती ११ बजे बेलायत सरकारले युरोपियन युनियनबाट अलग भएको घोषणा गर्दा देशभर नै उत्सव मनाइएको छ। विभिन्न शहरमा भेला भएका सर्वसाधारणले बेलायतको झण्डा फहराएर सरकारको निर्णयको स्वागत गरेको बीबीसीले जनाएको छ।

प्रधानमन्त्री बोरिस जोनसनले जारी गरेको भिडियो सन्देशमा सन् २०१६ सालमा बेलायतलाई युरोपियन युनियनबाट अलग गर्ने अभियान संचालकका लागि यो सुखद क्षण भएको बताएका छन्। बेलायतको घोषणासँगै ब्रसेल्समा युरोपियन युनियनले बेलायतको झण्डासमेत हटाएको छ।

यो निर्णयसँगै बेलायत युरोपियन युनियनसँग ११ महिने संक्रमणकालमा प्रवेश गरेको छ। उसले आगामी डिसेम्बरसम्म पुरानै कानुन लागू गर्ने स्पष्ट पारेको छ। जसका कारण मानिससहरु सहजै आवतजावत गर्न पाउने छन्।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७६ साल माघ १८ गते शनिवार ।