काठमाडौं। विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेपछि नेपालमा सरकारले पनि कडाई गर्न थालेको छ। कोरोना भाइरसवाट मुलुकलाई बचाउन नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट कडाईको कार्य प्रारम्भ गरेको हो।

यसक्रममा नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यावश्यक बाहेक अरु अवस्थामा प्रवेश नगर्न आग्रह गरेको छ।विमानस्थलले उपलब्ध गराउँदै आएको ‘भिजिटर पास’ बन्द गरिएको पनि प्राधिकरणले निकालेको सूचनामा जनाइएको छ।

प्राधिकरणले आफन्तजनको स्वागत तथा विदाइमा आउनेहरुलाई पनि अत्यावश्यक भएमा मात्र आउन भनेको छ। महाप्रबन्धक देवेन्द्र केसीले जारी गरेको विज्ञप्तिमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट सुरक्षित रहनका लागि विभिन्न सतर्कताहरु अपनाइएकोमा अहिले उक्त संक्रमण फैलिन सक्ने सम्भावना देखिएको र डब्लुएचओले पनि नेपाललाई जोखिममा राखेकाले अत्यावश्यक बाहेक विमानस्थलमा प्रवेश नगर्न आग्रह गरिएको छ।

‘यात्रुहरूलाई स्वागत तथा बिदाई गर्न आउनु हुने आफन्तजन लगायत अन्य महानुभावलाई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगरिदिनु हुन र अत्यावश्यक काममा आउनु हुने सबैलाई मास्क प्रयोग गरिदिनुहुन अनुरोध छ’ प्राधिकरणले निकालेको विज्ञप्तिमा उल्लेख छ।

सरकारले आइतबारवाट संक्रमण फैलन सक्ने भन्दै सार्वजनिक स्थानमा भीडभाड नगर्न आग्रह समेत गरेको छ।
प्रकाशन मिति–२०७६ साल फागुन १९ गते सोमवार ।