काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको उदगमस्थल मानिएको चीनमा सोमबार एक जनाको पनि मृत्यु नभएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।

जनवरीयता पहिलो पटक सोमबार कोरोनाभाइरसको स्थानीय केस र कसैको पनि मृत्यु नभएको तथा शुन्यमा झरेको आयोगले जनाएको छ। सोमबार चीनमा थप ३२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएपनि सबै ‘आयातित केस’ रहेको पनि आयोगले जनाएको छ।

मंगलबार बिहानसम्म चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय ३५ रहेको छ। त्यस्तै चीनमा अहिलेसम्म ८२ हजार ६ सय ९७ जनामा संक्रमण पुष्टि भएको र तीमध्ये करिब ७७ हजार निको भएको जोन होप्किन्स विश्वविद्यालयले जनाएको छ।

कोरोनाभाइरसको संक्रमण नियन्त्रणउन्मुख हुँदै गएपछि चीनको जनजीवन सामान्य हुँदै गएको छ। कोरोना भाइरसको इपिसेन्टर मानिएको वुहानमा पनि भोलि बुधवार बाट लकडाउन हटाइँदैछ भनेर कान्तिपुरको अनलाइन संस्करणले लेखेको छ। साथै चीनका विभिन्न प्रान्तमा रहेका पर्यटकीय तथा सांस्कृतिक केन्द्रहरु पनि खुला गरिसकिएको छ।


प्रकाशन मिति–२०७६ साल चैत २५ गते मंगलवार ।