काठमाडौं। दिलै छुने दिलमय गीत गाउंदै आएकी ख्यातिप्राप्त गायिका देविका बन्दनाको गायन राष्ट्रियताले ओतप्रोत गीत सार्वजनिक भएको छ। राजन इशानसंग युगल गायनमा गायिका देविका बन्दनाले गाएको “त्यही सच्चा नेपाली” बोलको गीत सार्वजनिक भएको हो। आनन्द अधिकारीको रचना रहेको गीतमा संगीत राजन इशानकै रहेको छ।

गीतमा शताव्दी पुरुष डाक्टर सत्यमोहन जोशी, बरिष्ठ अभिनेता नीर शाह, स्वभाविक अभिनयकी खानी नायिका गौरी मल्ल, सदावहार सुन्दरी नायिका करिश्मा मानन्धर, ख्यातिप्राप्त खलनायक तथा मोडल प्रशान्त ताम्राकार, मिस नेपाल उषा खड्गी, अभिनेता धीरेन शाक्य, नायक दीलिप रायमाझी, मिसेस इन्टरनेशनल टुरिज्म नेपाल शिलाष्मा हमाल, अभिनेत्री एवम् निर्देशक दीपाश्री निरौला, मोडल हिरो निरञ्जन प्रधान देखि नव नायक आकाश श्रेष्ठ, अभिनेत्री कविता शर्मा, सञ्चारकर्मी तथा निर्देशक दिनेश डीसी लगायतका तीसजना एक से एक कलाकारहरुको अभूतपूर्व अभिनय रहेको छ।

गीतको भिडियोको निर्देशन भने अभिनेत्री तथा निर्माता रोशनी केसीले गरेकी हुन् । उनले ४ दिन लगाएर लोकतन्त्र पार्क, पाटन, पशुपति क्षेत्रमा आदिमा गीत सुटिङ गरिएको वताएकी छन्। फिल्म ‘यात्रा’का निर्माता चिजकुमार श्रेष्ठको निर्माण रहेको छ। रामशरण उप्रेतीद्वारा छायांकन गरिएको उक्त भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ। भिडियोमा अर्जुन जिसीको सम्पादन र रेनिश फागोको कलर करेक्सन रहेको छ।

प्रकाशन मिति–२०७७ साल पुस २७ गते सोमवार ।