काठमाडौं। जनताप्रति उत्तरदायि स्थानीय सरकारको नमूना रौतहटको फतुवा विजयपुर नगरपालिकाले गरेको छ। नगरपालिकाभित्र रहेका स्थानीयले घरायसी र कृषि कार्यमा खर्च गर्ने बिजुलीको बिल तिरिदिने गजबको राम्रो निर्णय गरेपछि नगरपालिकाको व्यापक तारिफ भएको हो।

कान्तिपुर दैनिकको समाचार अनुसार, नगरपरिषद्बाट नगरपालिकाले यससम्बन्धी निर्णय पास गराएको छ । यही कात्तिकदेखि आगामी असारसम्म उठ्ने बिजुलीको बिल तिर्न नगरसभाले ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरपालिकाका मेयर गोपाल राय र उपमेयर कान्तिदेवीबीचको विवादका कारण लामो समयदेखि रोकिएको चौथो नगरपरिषद् असोज १० मा सम्पन्न भएको थियो ।

त्यही नगरपरिषद्ले यस्तो निर्णय गरेको हो । स्थानीयले अब घरायसी प्रयोजनका लागि खपत गरेको बिजुलीको महसुल तिर्नु पर्दैन । नगरपालिकाले नै तिर्नेछ । नगरपालिकामा ११ वडा छन् । झन्डै आठ हजार घरधुरी छन् । उद्योग र अन्य प्रयोजनका लागि लिएको थ्री–फेज लाइनको महसुल भने स्थानीयले बुझाउनुपर्छ ।

नगरक्षेत्रभित्र मिटर रिडिङ गर्ने समयमा नगरपालिकाले एक जना कर्मचारी पनि खटाउनेछ । त्यस बेला प्राधिकरणलाई कर्मचारी खटाएर सघाउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद गुप्ताले भनेका छन्। प्राधिकरणले कृषि मिटर र घरेलु, उद्योगका छुट्टाछुट्टै बिल निकालेर एकमुष्ट रकमबारे नगरपालिकालाई जानकारी गराउँछ। त्यहीअनुसार भुक्तानी हुने गुप्ताले वताएका छन्।
प्रकाशन मिति–२०७७ साल कात्तिक १३ गते विहीवार ।