काठमाडौं। नेपाली चलचित्रका कलाकारहरुको एकमात्र छाता संगठन चलचित्र कलाकार संघको १७ औं साधारण सभा तथा नयाँ कार्य समितिको चुनाव स्थगित भएको छ। यही चैत्र २३ गते शनिवार हुने भनिएको साधारण सभा तथा चुनाव विविध कारणले स्थगित भएको हो।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले २०७५ साल चैत्र १५ गते पत्र काटेपछि संघको चैत्र २३ गते हुने भनिएको निर्वाचन रोकिएको हो। निर्वाचनका लागि २० जना भन्दा बढीले उम्मेदवारी समेत दर्ता गरिसकेका थिए । तर, गैह्र कलाकारलाई सदस्यता दिएको, तोकिएको समय भन्दा पनि पछि सदस्यता दिएको लगायतका बिषयमा उजुरी परेपछि प्रशासनले चुनाव रोक्न आदेश दिएको हो।

मनोनयन दर्ता गरिसकेकाहरुको मनोनयन फिर्ता गरिएको छ। अध्यक्ष पदका लागि सरिता लामिछाने र निर्देशक तथा कलाकार लय संग्रौलाले उम्मेदावरी दिएका थिए। महासचिवमा विमला केसीको उम्मेदवार परेको थियो। त्यस्तै गरेर, उपाध्यक्षमा जेनी कुँवरले उम्मेदवारी दिएका थिए। काठमाडौं जिल्ला प्रशासन कार्यालयमा परेको उजुरीको टुंगो लागेपछि मात्र साधारण सभा र निर्वाचन हुने भएको छ।
प्रकाशन मिति–२०७५ साल चैत्र १९ गते मंगलवार ।