काठमाडौं। लामो समय देखि नेपाली चलचित्र उद्योगमा सहायक चलचित्र निर्देशकको कार्य गर्दैआएका मिलन चोङवाङ लिम्बू अव निर्देशक बनेका छन्। “हामी संगसंगै र संगसंगै बाँच्न पाऊ” नामक चलचित्रवाट लिम्बू निर्देशक बनेका हुन्।

आगामी बर्षको बडादशैंमा रिलिज गर्ने सोचका साथमा लिम्बू निर्देशित चलचित्र “हामी संगसंगै र संगसंगै बाँच्न पाऊ”को युद्धस्तरमा काम भैरहेको छ। नेपाली कला र संस्कृति झल्कने मौलिक नेपाली अर्गानिक चलचित्र निर्माण तथा निर्देशन गर्न आफू हरपल तत्पर रहेको बताउने निर्देशक लिम्बू सानैदेखि कला र संस्कृतिमा हुरुक्कै हुदैआएको बताउंछन्।

सानोमा गाउंठाउंमा हुने सांगीतिक तथा सांस्कृतिक कार्यक्रममा अग्रता दिने गरेका लिम्बूले विभिन्न नाटकहरुमा अभिनय समेत गरेका छन्। सानोको त्यो सांगीतिक तथा सांस्कृतिक मोह तथा अभिनयको जोशले नेपाली कला र कलाकारितामा होम्मिएका लिम्बू नेपाली चलचित्रका विशिष्ट कलाकार तथा निर्देशक उदय सुव्वाको साथ तथा सहयोगवाट विभिन्न चलचित्रमा अभिनय गर्नुको अलावा सहायक निर्देशक भएर काम गर्दैआएका हुन्।

यतिखेर आफै चलचित्र निर्देशक बन्दा ठूलो जिम्मेवारी महशुश भएको लिम्बू बताउंछन्। नेपाली मौलिक कला तथा संस्कृतिको अनुपम कथा बोकेका नेपाली अर्गानिक चलचित्रको विश्वभर डिमाण्ड भएको कारण यस्तै चलचित्र बनाएर विश्व बजारमा नेपाली चलचित्र पुर्याउने आफ्नो एक मात्र भिजन तथा मिसन भएको निर्देशक लिम्बूले भनेका छन्।

उनै निर्देशक मिलन चोङवाङसंग भएको छोटो मिठो कुराकानी–

१.चलचित्र क्षेत्रमा आउनुको कारण के हो ?
–मेरो सानैदेखिको कला र कलकारिताप्रतिको चाहना हो । सानैदेखि गीत–संगीत र नाटकमा धेरै नै रुचि राख्ने गर्दथे । स्कुल लाइफमा स्कुलमा विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरु हुने गर्दथ्यो । ती कार्यक्रमहरुमा नविराइकन भाग लिने गर्दथ्ये । यसवाट अझ मेरो कला र कलाकारिताप्रति ज्यादै नै रुचि बढ्यो र त्यसपछिका दिनमा चलचित्र क्षेत्रमा आउने चाहनाले तिब्र रुप लियो । अनि चलचित्र क्षेत्रमा मेरा श्रद्धेय दाजु उदय सुव्वा लगायतको प्रेरणा र उहाँकै अगुवाइमा मज्जाले आएको हुँ ।

२.चलचित्र क्षेत्रमा आफ्नो भविष्य देख्नु हुन्छ ?
–काम र मेहेनत गर्नुपर्छ । अनि निरन्तरता पनि दिनुपर्दछ । मज्जाले भविष्य देखेको छु। म चलचित्र क्षेत्रप्रति आशावादी छु।

३.नेपालमा अहिले चलचित्र क्षेत्रको बजार कस्तो देख्नुहुन्छ ?
–नेपालमा दिनप्रति दिन सुविधासम्पन्न चलचित्र भवनहरु बढ्दो अवस्थामा छ । नेपाली चलचित्रप्रति नेपाली दर्शकहरुको बढ्दो आकर्षण छ । विश्वका विभिन्न देशहरुमा नेपाली चलचित्रप्रति आकर्षण पाइएको छ । यसवाट पनि नेपाली चलचित्रको बजार नेपालमा मात्र नभइकन नेपाल वाहिर पनि देखेको छु।

४.अर्बौको विदेशी फिल्मसंग नेपाली चलचित्रले प्रतिस्पर्धा गर्न सक्ला त ?
–हो । तपाईले भन्नुभएको कुरा सही हो । अर्बौको लगानी रहेको प्रविधि संपन्न विदेशी चलचित्रसंग नेपाली चलचित्रले प्रतिस्पर्धा गर्न अवश्य पनि कठिन छ । यद्यपि, नेपाली मौलिकपना तथा माटो सुहाउंदो कला–संस्कृतिले भरिएको मौलिक नेपाली चलचित्रको अगाडि अर्बौका विदेशी चलचित्र पनि फिक्का फिक्का हुने गर्दछ। मौलिक नेपाली चलचित्रको अगाडि ती चलचित्रको कुनै अर्थ हुने गर्दैन । मज्जाले प्रतिस्पर्धा गर्न सक्छन। यो मेरो विश्वास हो ।