ललितपुर । वागमति प्रदेशका सांसद शैलेन्द्र बज्राचार्यले अब चाँडै नै वागमति प्रदेशमा नेपालभाषा र तामाङ भाषा कामकाजी भाषाको रुपमा प्रयोगमा आउने बताएका छन्। ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद बज्राचार्यले प्रदेशमा भाषा सम्वन्धि विधेयक पारित भइसकेको अवस्थामा अब चाँडै कार्यान्वयनमा आउने बताए । कार्यक्रममा सांसद बज्राचार्यले कन्फराक्टीभ मिडिया सोलुसनको कन्फराक्टीभ हलको उद्घाटनको साथमा नेपालभाषाको न्यूज पोर्टल ebukhan.com को शुभारम्भ गरे ।

सोही कार्यक्रममा बोल्दै बज्राचार्यले विधेयक सजिलै पारित भएको नभई धेरै जनाले धेरै संघर्ष र योगदान गरेको र भाषा सम्वन्धि विधेयक कार्यान्वयनमा ल्याउन स्थानीय संचारमाध्यमको पनि उत्तिकै सक्रिय भूमिकाको आवश्यकता रहेको विचार राखे । ‘गणतन्त्र, लोकतन्त्रमा यो विधेयक सजिलै पारित भएको जस्तो लाग्ला, जुन होइन । अब यसलाई कार्यान्वयनमा ल्याउन स्थानीय समाज र स्थानीय संचार माध्यमले पनि सक्रिय भूमिका खेल्नु आवश्यक छ’ बज्राचार्यले भने । अब स्थानीय नेपालभाषा प्रदेशको कामकाजी भाषा बन्ने अवस्थामा नेपालभाषाका संचारमाध्यमहरुले पनि व्यावसायिक रुपमा अघि बढ्न स्पष्ट योजना बनाउन आग्रह गर्दै यसमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।

कार्यक्रममा कन्फराक्टीभ मिडिया सोलुसनका अध्यक्ष बिराजकाजी राजोपाध्यायले स्थानीय विषयवस्तुको उठान र नयाँ खोजीका लागि कन्फराक्टीभ हललाई सम्वाद र अन्तरक्रियाको थलोको रुपमा विकास गर्ने बताए । मूलधारका भनिएका ठुलठुला मिडियाको आँखामा नपर्ने स्थानीय आवाज, मुद्दा र विषयवस्तु समाचारडेस्क र ईबुखँको मेन न्यूज बन्ने अध्यक्ष राजोपाध्यायको भनाई हो । ‘६ वर्षदेखि चलाउँदै आएको नेपाली न्यूज पोर्टल समाचारडेस्कको प्राथमिकता स्थानीय विषयवस्तु नै थियो, अब ईबुखँले स्थानीय विषय स्थानीय भाषामै सम्प्रेषण गर्छ । यी दुई डिजिटल डबलीको साथै कन्फराक्टीभ हल भौतिक रुपमा भेला भई स्थानीय विषयवस्तुमाथि सम्वाद, अन्तरक्रियाको लागि प्रयोग गरिनेछ’ राजोपाध्यायले भने ।

ईबुखँका सम्पादक विशाल राजभण्डारीले स्थानीय मुद्दा, विषयवस्तुलाई सशक्त ढङ्गले सम्प्रेषण गर्न स्थानीय समाजको सक्रिय सहयोगको लागि आग्रह गरे । ‘ईबुखँ आज बल्ल सुरु भएको छ, धेरै बोल्नु केही छैन । स्थानीय विषयवस्तु, मुद्दालाई सशक्त ढंगले सम्प्रेषण गर्न आउनुस्, हामी सबै सँगै अघि बढौं’ सम्पादक राजभण्डारीको भनाई हो । कार्यक्रममा विभिन्न संचारमाध्यममा आवद्ध पत्रकार, संचारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, अभियानकर्मी, समाजसेवी लगायतको उपस्थिती थियो ।

कन्फराक्टीभ मिडिया सोलुसनले विगत ६ वर्षदेखि नेपाली न्यूज पोर्टल समाचारडेस्क संचालन गर्दै आएको छ, जसमा बिराजकाजी राजोपाध्याय सम्पादक छन् । अहिले नेपालभाषाको न्यूज पोर्टल ebukhan.com संचालन गरेको छ । यस न्यूज पोर्टलमा बिशाल राजभण्डारी सम्पादक छन् ।