काठमाडौं। चीनको राजधानी बेइजिङका दरबार संग्रहालय ‘फोर्बिडन सिटी’ मा चलिरहेको प्रदर्शनीमा नेपालको श्रीपेच चर्चाको विषय बनेको छ।

काठमाडौवाट प्रकाशित कान्तिपुर दैनिकका अनुसार प्रदर्शनीमा राखिएको श्रीपेच तत्कालिन श्री ५, श्री ३ वा अरु नै कसैको हो भन्ने यकिन नभए पनि यसले धेरैको ध्यान तानेको छ । नेपाली र नेपालबारे चासो राख्नेहरुले यसलाई बडो अभिरुचीपूर्वक हेर्ने गरेका छन्। ‘नेपालको श्रीपेच’ लेखेरै राखिए पनि यो ‘जेम्स एन्ड जेवल्स अफ इन्डिया’ अर्थात भारतका बहुमूल्य वस्तु तथा अनमोल गहना शीर्षकमा सूचीकृत गरेर प्रदर्शनीमा राखिएको छ।

चीनमा अन्तर्राष्ट्रिय पुरातात्विक वस्तुको प्रदर्शनी गर्दा सरकारी निकाय नै संलग्न हुने गर्दछ । तर, नेपालको श्रीपेच भारतीय वस्तुको प्रदर्शनीमा कसरी समेटिन पुग्यो भन्नेमा कसैले चासो दिएको पाइन्न भनेर कान्तिपुरले लेखेको छ।
प्रकाशन मिति–२०७५ साल जेठ २७ गते आइतवार ।