काठमाडौ। साउदी अरबमा महिलाले सवारी चलाउन पाइदैन। यसले गर्दा त्यहाँका महिलाहरुले सवारी चलाएमा कडा कारवाही हुने नियम छ। अव त्यो नियम खुकुलो भएको छ। साउदीका महिलाले पनि अव सवारी चलाउन पाइने भएको छ।

त्यहाँका महिलालाई पहिलो पटक सवारी चलाउने ड्राइभिङ लाइसेन्स प्रदान गरिएको छ। साउदीमा सोमबार १० जना महिलालाई लाइसेन्स वितरण गरिएको हो। साउदीका राजकुमार मोहम्मद बिन सलमानले केही दिन अघि महिलालाई सवारी चलाउन लगाइएको प्रतिबन्ध हटाउने ऐतिहासिक निर्णय लिएबमोजिम उक्त ड्राइभिङ लाइसेन्स प्रदान गरिएको साउदी सरकारले भनेको त्यहाँको समाचार एजेन्सीहरुले जनाएको छ।

अब यही जुन २४ देखि साउदी अरबमा महिलाले सडकमा सवारी चलाउन पाउने छन्। सोमबार राजधानी रियादसहितका केही शहरमा १० जना महिलालाई लाइसेन्स वितरण गरिएको र आगामी हप्तासम्म २ हजार महिलालाई वितरण गर्ने कार्यक्रम रहेको पनि साउदी सरकारले भनेको छ।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल जेठ २३ गते बुधवार ।