काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिका चीनमा सम्मानित भएको छ। चीनको हुआन शहरमा आयोजित फ्रेण्डसीप सिटी फर एक्सचेञ्जेज एण्ड कोअपरेसन विथ चाइना नामक अवार्डवाट काठमाडौं महानगरपालिका सम्मानित बनेको हो।

चीनको हुआनमा यही नोभेम्बर १४ देखि १६ तारिख (कात्तिक २८ गतेदेखि ३० गतेसम्म) आयोजित चाइना इन्टरनेशनल फ्रेन्डसीप सिटिज कन्फरेन्स–२०१८ मा काठमाडौं महानगरपालिका उक्त अवार्डवाट सम्मानित भएको हो। अवार्डका लागि तिब्बतको ल्हासा नगरले काठमाडौं महानगरपालिकालाई सिफारिस गरेको थियो। उक्त कन्फरेन्समा सहभागिता जनाएर काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीले अवार्ड लिएर शनिवार काठमाडौं फर्केका छन्।

गौरबशाली कार्यक्रममा सहभागिता जनाएर काठमाडौंको गौरब तथा शानलाई चीनमा विश्वकै नगरपालिकाहरुमाझ उच्च स्थान कायम गराएर आउन सफल मेयर शाक्य र उपमेयर खड्गी लगायतका भ्रमण दलका टीमलाई काठमाडौं महानगरपालिकाका कार्यवाहक मेयर भरतलाल श्रेष्ठ, संघीय सांसद रामवीर मानन्धर लगायत काठमाडौं महानगरपालिकाका विशिष्ट कर्मचारीहरुले त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा स्वागत गरेका थिए।

हुआनमा संपन्न कन्फरेन्समा चीनसंगी भगिनी संवन्ध भएका ६० वटा अन्तरराष्ट्रियसहितका ८ सय नगरका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। स्वदेश फर्केको लगतै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आधुनिक र समृद्ध शहर निर्माणका लागि अन्तरराष्ट्रिय अभ्यासलाई हाम्रो परिवेश अनुरुप रुपान्तरण गर्ने हौसला मिलेको बताएका छन्।

मेयर शाक्यले आफूहरुले चीनको छेन्दुलगायत अन्य विभिन्न नगरका मेयर तथा उपमेयरसंग आपसी सहयोगको कुरा गरेको तथा त्यहाँ आफूहरुले सिकेका र जानेका कुरा काठमाडौंं महानगरवासीहरुको हितमा प्रयोग गर्ने जानकारी पनि दिएका छन्।

आधुनिक र बाताबरणमैत्री शहर निर्माण गर्न तथा साझा समृद्धिका लागि उन्नत अनुभव आदान–प्रदान गर्न कन्फरेन्स प्रभावकारी बनेको पनि मेयर शाक्यको जिकिर रहेको छ। मेयर शाक्य र उपमेयर खड्गी कन्फरेन्समा भाग लिन सोमवार चीन प्रस्थान गरेका थिए।

Photo By-Chandra Mani Bhattarai/KMC

प्रकाशन मिति–२०७५ साल मंंसीर १ गते शनिवार ।