काठमाडौं। नेपालको मित्र राष्ट्र चीनमा ‘लेकिमा’ नामक कडा आँधी आएको छ। यो आँधीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ। आँधीबाट करिब ५ सय जना घाइते भएको कान्तिपुर डेलीले उल्लेख गरेको छ आँधीले करिब २५ हजार घरहरू र १० लाख ६० हजार चिनियाँ युआनको आर्थिक क्षति पुर्‍याएका प्रारम्भिक अनुमान रहेको छ।

आँधी चीनको च च्याङ प्रान्तबाट शनिबार सुरु भएर च्याङ सु प्रान्तमा प्रवेश गरेको थियो । अगस्टको ११ तारिख दिउँसो चिनियाँ पहेँलो समुद्र क्षेत्रको पश्चिमतिरजाने र सोही दिनको बेलुकीसम्म शान तुङ प्रान्तको री चाउ नामक शहरनजिकका क्षेत्रमा पुग्ने चिनियाँ मौसम विज्ञान केन्द्रले जनाएको छ।

यस्तै आँधीपछि आएको पहिरोमा परेर च च्याङमा १४ जना हराइरहेका सुरक्षा अधिकारीले बताएका छन् । शनिबार बिहान लेकिमाले ताइवान र चीनको आर्थिक राजधानी शाङ्घाईको बीचमा पर्ने वेन्लिङलाई प्रभावित तुल्याएको थियो।

लेकिमालाई पहिला ‘कडा तुफान’ मानिएको थियो । तर भूमिमा आइपुग्नुपहिले नै तुफानको गति क्षीण भएको छ । सुरूमा ‘लेकिमा’१८७ किलोमिटर प्रतिघण्टाको वेगमा आएको चिनियाँ मौसम विज्ञान केन्द्रले जनाएको छ ।
प्रकाशन मिति–२०७६ साल साउन २६ गते आइतवार ।