रसुवा । रसुवाको भोटेकोशी नदीमा एक्कासी भीषण बाढी आएको छ। जसको कारण टिमुरे लगायत त्रिशुली नदीका छेउका बस्तीहरुको जनजिवन प्रभावित भएको छ। चीनको केरुङ आसपासका क्षेत्रमा भीषण बर्षा भएपछि भोटोकाशीमा आएको बाढीले टिमुरे लगायत त्रिशुली नदीका छेउका बस्तीको जनजिवन तनाबग्रस्त बनाएको हो।

इमेज खवरका अनुसार, राती नौ बजेबाट खोलाको बहाब एक्कासी बढेकाले रसुवागढीको जलविद्युत आयोजनाले खतराको साईरन बजाएको थियो। रसुवा–भन्सार याडमा भंसार गर्न राखिएका कन्टेनरहरु बगाउने खतरा भएपछि सुरक्षाकर्मीको सहायतामा राती नै सार्ने काम गरिएको छ।

जिल्लाको उत्तरगया गाँउपालिका १ मैलुङ तथा ५ को खाल्टे बगर क्षेत्रका भुकम्पबाट बिस्थापित भएका बासिन्दासमेत समयमै सूचना पाएपछि सुरक्षित स्थानमा सरेकाले मानवीय क्षति नभएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीको भनाई रहेको छ।

रसुवागढी भन्सार कार्यालयबाट रसुवागढी जलविद्युत् आयोजनाको कर्मचारी निवास जाने बेलि ब्रीज पुल बगाएको छ भने अन्य क्षतिको विवरण आउन बाँकी रहेको प्रजिअ भण्डारीले भनेका छन्।

उता रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ४५ जनाभन्दा बढी कर्मचारी ‘आयोजना क्याम्प’ छोडेर बाहिरिएका छन्। भीषण बाढी आएकाले क्याम्पमा बस्न सुरक्षित नरहेको आयोजना प्रमुख छबि गैरेले बताएका छन्।
प्रकाशन मिति–२०७६ साल भदौं २ गते सोमवार ।