काठमाडौं। नेपाल र चीनबीच सोमबार काठमाडौंमा तीनबुँदे सम्झौता भएको छ। नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सम्मिलित दुईपक्षीय वार्तापछि दुई देशबीच तीनबुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

परराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङको उपस्थितिमा भएका सम्झौतामा मनाङमा अस्पताल निर्माणका लागि चीनले ३५ करोड ६० लाख रुपैयाँ उपलब्ध गराउनेछ भने नेपालमा चिनियाँ भाषा पढाउन स्वयंसेवक शिक्षकहरु पनि पठाउनेछ।

प्राकृतिक विपत्तिका लागि आवश्यक पर्ने पाँच हजारथान त्रिपाल पनि चीनले दिने सम्झौता पनि दुई देशबीच भएको छ। दुईओटा सम्झौताहरुमा अर्थ मन्त्रालयका सचिव राजन खनाल र चाइना डेभलपमेन्ट कोअपरेसनका उपाध्यक्ष तङ पोछिङले हस्ताक्षर गरेका छन्।

यस्तै, अर्को एक सम्झौतामा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र शिक्षा मन्त्रालयका सचिव महेश दाहालले हस्ताक्षर गरेका छन्।
प्रकाशन मिति–२०७६ साल भदौं २३ गते मंगलवार ।