काठमाडौं। छत्र ओढाएर सम्मान दिने कार्य देउता र राजा पछि भिक्षुलाई नै हो। भिक्षु बन्दा नै छत्र ओढाएर सम्मान गर्ने गरिन्छ। यो बौद्ध परम्पराको मौलिकता हो। यो मौलिकताभित्रको यथार्थता बौद्ध परम्परा अनुसार गरिने प्रवज्या संबर नै हो। प्रवज्या संबरलाई नेपालभाषामा बरे छुइगु भनेतापनि यथार्थतामा भिक्षु बनाउने कार्य नै हो।

कतिले प्रवज्या संबरलाई चूडाकर्म यानी ब्रतबन्ध गर्ने भन्ने गरेको यथार्थता नभएको तर्क बौद्ध विव्दान तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका निवर्तमान उपकुलपति प्राध्यापक डाक्टर नरेशमान बज्राचार्यको रहेको छ। बौद्ध विव्दान डाक्टर बज्राचार्यले प्रवज्या संबर बज्राचार्य र शाक्य परिवारका बच्चाहरुलाई भिक्षु वनाउने मौलिक बौद्ध परम्परा भएको बताएका छन्।

रत्नकेतु महाविहार झ्वाबहालको जिसिं आजु गुठी प्रबज्या संवर व्यवस्थापन समितिको आयोजनामा भएको प्रवज्या संबर प्रवचन कार्यक्रममा प्रमुख प्रवक्ताको रुपमा डाक्टर बज्राचार्यले खुलासा गरेका हुन । काठमाडौंको खुशिबुँ स्थित नेपाः बैक्विटमा शनिवार साँझ आयोजित कार्यक्रममा बज्राचार्यहरुको परम्परागत संस्कारको रुपमा चल्दैआएको प्रवज्या संवर बौद्ध धर्म अपनाउंदै आएका संसारका सवै देशमा प्रचलित रहेको र समय तथा स्थान अनुसार अलि फरक भएतापनि विधि विधानमा एकता भएको जानकारी पनि वौद्ध विव्दान डाक्टर बज्राचार्यले दिएका छन्।

अझ कतिपय देशमा प्रबज्या संबर छोराको मात्र नगरिकन छोरीको पनि गर्ने गरेको खुलासा पनि डाक्टर बज्राचार्यले गरेका छन्। प्रवज्या संबर प्रवचन कार्यक्रममा दुई घण्टा लामो प्रवचन दिदै बौद्ध विव्दान डाक्टर बज्राचार्यले यसको महत्व र आवश्यकतामाथि प्रकाश पार्दै प्रबज्या संबर गर्ने तौर–तरीकालाई पनि स्लाइड–शो मार्फत स्पष्ट पारेका थिए।

छत्र ओढाएर सम्मान दिने भिक्षु बन्ने र बनाउने बौद्ध परम्पराको मौलिकता र यथार्थतालाई अझ विस्तृत रुपमा प्रकाश पारेर यसको महत्व दर्शाउन नै प्रबज्या संबर प्रवचन कार्यक्रमको आयोजना गरिएको जानकारी आयोजक रत्नकेतु महाविहार झ्वाबहालको जिसिं आजु गुठी प्रबज्या संवर व्यवस्थापन समितिका सह–संयोजक आनन्द रत्न बज्राचार्यले वताएका छन्।

नेपाल सरकारका पूर्व सहसचिव समेत रहेका मायाबी गीतकार आनन्द रत्न बज्राचार्यले बज्राचार्यहरुको यो परम्परागत संस्कारलाई नयाँ पुस्तावाट लोप हुन नदिन पनि आफूहरुले यसप्रकारको प्रवचन गर्न आवश्यक भएरै दिएको वताएका छन्।

आयोजक रत्नकेतु महाविहार झ्वाबहालको जिसिं आजु गुठीका ज्येष्ठ सदस्य अशोक रत्न बज्राचार्यको सभापतित्वमा भएको प्रवचन कार्यक्रममा स्वागत भाषण प्राध्यापक डाक्टर गौतम रत्न बज्राचार्यले गरेका थिए। गुठीका सदस्य नरेन्द्र रत्न बज्राचार्यले धन्यवाद ज्ञापन गरेका थिए।

प्रकाशन मिति–२०७७ साल फागुन २ गते आइतवार ।