काठमाडौं। जनप्रतिनिधिहरुले राष्ट्रिय तथा अन्तरराष्ट्रिय शिष्टाचार तथा तिनको व्यावहारिक पक्ष संवन्धी जानकारी भएमा कार्य सम्पादन क्षेत्रमा सहज अनि सरल हुने गर्दछ। सोही सरलताको लागि काठमाडौं महानगरपालिकाले जनप्रतिनिधिहरुको लागि दुईदिने राष्ट्रिय तथा अन्तरराष्ट्रिय शिष्टाचार र व्यावहारिक पक्ष संवन्धी अभिमुखिकरण तालिम प्रदान गरेको छ।

शुक्रवार र शनिवार गरेर दुई दिने आवासिय तालिम ललितपुरको गोदावरी स्थित होटल भ्यू भृकुटीमा प्रदान गरेको हो। जनताका सेवक जनप्रतिनिधिहरुको बोली, बचन तथा व्यवहारमा व्यापक परिवर्तन ल्याउने सोच तथा लक्ष्यका साथमा यसप्रकारको तालिम जनप्रतिनिधिहरुलाई दिइएको आयोजक काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भिजन संसार डटकमलाई दिएका छन्।

मेयर शाक्यले हरेक जनप्रतिनिधिका लागि शिष्टाचार सम्बन्धि ज्ञानको अत्यन्त खाँचो भएको बताएका छन्।। काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीले शिष्टाचार सबैलाई चाहिने त्यसमा पनि राजनीतिकर्मीलाई त झन चाहिने जिकिर गरेकी छन्। तालिम उद्घाटन सत्रमा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको समेत आतिथ्यता रहेको थियो।

जनप्रतिनिधि र कर्मचारी प्रतिस्पर्धी नभइकन सहयोगी भएको दावी काठमाडौं महानगरपालिकाका सहसचिव डा.टोकराज पाण्डेले गरेका छन्। राष्ट्रिय तथा अन्तरराष्ट्रिय मञ्चमा सहभागी हुन जानेले देशको गरिमा बोकेर जाने भएकोले पनि शिष्टाचार जनप्रतिनिधिका लागि जरुरी भएको सहसचिव डा.पाण्डेको भनाई रहेको थियो।

परराष्ट्रविद रामबाबु ढकाल,मधुरमण आचार्य र दीपक अधिकारीले तालिम प्रदान गरेका थिए। तालिम कार्यक्रममा काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका वडा अध्यक्ष तथा वडा सदस्यहरुको सहभागिता रहेको थियो। जसमा मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले पनि विशेष अभिरुचिका साथ सहभागिता जनाएका थिए।

प्रकाशन मिति–२०७५ साल माघ १९ गते शनिवार ।