kaidi-bandi-in-nepalकाठमाडौ। नेपालमा विभिन्न अपराधमा जेल पर्ने कैदीबन्दी पाल्न मात्र बर्षमा ६७ करोड खर्च हुने गरेको खुलासा भएको छ। नयाँ पत्रिका दैनिकका अनुसार नेपाल सरकारले ती कैदीबन्दीहरुलाई दैनिक रुपमा दिने नगद, चामल तथा लत्ताकपडा खरिद गर्नका लागि यो रकम खर्च हुने गरेको हो।

जेलमा परेका कैदीबन्दी मात्र होइनन्, उनीहरूमाथि आश्रित (जेलमा उनीहरूसँगै बस्नुपर्ने अवस्थाका)लाई पाल्ने जिम्मेवारी पनि सरकारले नै निभाउँदै आएको छ। आर्थिक वर्ष ०७२/७३ मा उनीहरूको चामल, सिधा (नगद रकम) र कपडामा मात्र ६७ करोड ५८ लाख ७४ हजार पाँच सय ६३ रुपैयाँ खर्च भएको कारागार व्यवस्था विभागले जनाएको छ।

असोज मसान्तसम्मको तथ्यांकअनुसार नेपालका जेलमा करिब १८ हजार कैदीबन्दी छन्। जुन संख्या हरेक दिन घटबढ हुन्छ। हरेक दिन नयाँ व्यक्ति जेल जाने र पुराना छुट्ने प्रक्रिया चलिरहन्छ। जसमध्ये नौ सय ८७ विदेशी र एक सय १४ जना कैदीबन्दीका आश्रित छन्।

विदेशीमा सबैभन्दा धेरै भारतीय र चिनियाँ छन्। अमेरिका, युरोप तथा अफ्रिकन देशका नागरिक पनि नेपालको जेलमा छन्। जेलमा आश्रितहरूलाई पनि चामलका साथै दैनिक भत्तासमेत सरकारले दिनुपर्छ।

प्रकाशन मिति–२०७३ साल मंसीर ७ गते मंगलवार ।