काठमाडौ।टर्कीको इस्तानबुलस्थित अटाटुर्क विमानस्थलमा बुधबार बिहान आत्मघाती बम आक्रमण र अन्धाधुन्ध गोली प्रहारबाट कम्तिमा ४१ जना मारिएका छन्। युरोपको सबैभन्दा व्यस्तमध्ये एक यो विमानस्थलमा ट्याक्सीमा आएका तीनजना आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा र बम विस्फोट गराउँदा उनीहरुको मारिएका हुन्। मारिनेमा कम्तिमा १३ जना विदेशी नागरिक छन् । घटनामा २ सय ३९ भन्दा बढी घाइते भएका छन्।

Turki Attact 1

उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। आक्रमणकारीले अन्तर्राष्ट्रिय टर्मिनलको मुख्य प्रवेशद्वारमा आक्रमण गरेका हुन् । प्रहरीले गोली चलाउन थालेपछि आक्रमणकारीले आफैंलाई विस्फोट गराएका थिए। आक्रमण योजनाबद्धरुपमा भएको अधिकारीहरुले दाबी गरेका छन् । आक्रमणपछि विमानस्थलमा जहाजको उडान तथा अवतरण रद्द गरिएको छ। आक्रमणमा ‘कुर्दिस’ पृथकतावादी वा ‘आइएस’को संलग्नता हुनसक्ने आशंका गरिएको छ।

Turki Attact 2

गत वर्ष सरकार र कुर्दिस पृथकतावादीबीचको युद्धविराम भंग भएपछि टर्कीमा आक्रमणका घटना बढेका छन्। टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दोगानले आक्रमणको निन्दा गर्दै आतंकवादविरुद्ध संयुक्त अभियानका लागि आह्वान गरेका छन् ।
अमेरिकाले आक्रमणलाई जघन्य अपराध भन्दै टर्कीलाई सहयोग गर्न तयार रहेको बताएको छ भने जर्मनीले पनि आक्रमणको निन्दा गरेको छ । (एजेन्सी)

प्रकाशन मिति–२०७३ साल असार १५ गते बुधवार ।