काठमाडौं। गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टद्धारा काठमाडौंको भृकुटीमण्डपमा आयोजित डोमेस्टिक टुरिजम मार्ट २०१९ (डीटीएम)को शुक्रबार उद्घाटन भएको छ। नेपालका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले टुरिजम मार्टको उदघाटन गरेका हुन्।

उदघाटन कार्यक्रममा न्यूजलाइन्स नेपाल डटकमका कार्यकारी अध्यक्ष तथा प्रधान सम्पादक राजु भट्ट सम्मानित बनेका छन्। सम्पादक भट्टलाई प्रमुख अतिथि डा.भट्टराईले सम्मान प्रदान गरेका थिए। सम्पादक भट्टलाई पर्यटन पत्रकारिता मार्फत नेपालको पर्यटन क्षेत्रमा दिएको योगदानको कदर स्वरुप सम्मान प्रदान गरिएको हो।

आयोजक गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारी (अबिरल)ले मुलुकभित्र लुकेर रहेका पर्यटकीय सम्भावनाहरुलाई उजागर गर्दै देशैभरी पर्यटनमैत्री वातावरण तयार गर्नका लागि आन्तरिक पर्यटन मेला आयोजना गरिएको बताए। यो मेला मुलुकको पर्यटन प्रवद्र्धनका लागि नयाँ प्रयोग भएको बताउँदै उनले यसलाई आगामी दिनमा थप परिस्कृत गर्दै लैजाने प्रतिबद्धतासमेत जनाएका छन्।

मुलुकमा पर्यटन जागरण सिर्जना गर्ने तथा ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउने उद्देश्यका साथ निजी क्षेत्रको प्रतिनिधित्व गर्दै गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले पहिलो पटक यो मेला आयोजना गरेको हो । कार्यक्रममा पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महत, टे«किङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहाल, रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालगायतले वोलेका थिए।

७७ वटै जिल्लाबाट प्रतिनिधित्व हुनेगरी १ सय ११ वटा व्यवसायिक तथा फुड स्टलहरु रहेको उक्त मेलामा पर्यटन क्षेत्रका सेवा प्रदायक संस्थाहरु टे«किङ, ट्राभल्स, एयरलाईन्स, होटल, होमस्टे, टुरिज्मसँग सम्बन्धित कलेज तथा विभिन्न परिकारसहितको फुड स्टललगायतका प्रर्दशनीहरु मुख्य आकर्षणको रुपमा राखिएका छन्।
प्रकाशन मिति–२०७६ साल बैशाख १३ गते शुक्रवार ।