काठमाडौं। काठमाडौं महानगरपालिका क्षेत्रभित्र बढ्दो सवारी चाप रहेको छ। त्यसवाट सिर्जित समस्या तथा चुनौतिहरुको अध्ययन गरी उपयुक्त नीति अवलम्बन गर्नुपर्ने आवश्यकताको जिम्मेवारी पनि काठमाडौं महानगरपालिकामा नै आइपरेको छ।

त्यस जिम्मेवारीलाई महशुस गरी काठमाडौं महानगरपालिका शहरी योजना आयोगले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनका विभिन्न आयामहरुमा अध्ययन गरिरहेको जानकारी काठमाडौं महानगरपालिका शहरी योजना आयोगका अधिकृत सुशील सुवेदीले दिएका छन्। अधिकृत सुवेदीका अनुसार, काठमाडौं महानगरपालिका शहरी योजना आयोगबाट पछिल्लो समय सञ्चालन गरेको ट्राफिक सर्वेक्षण, सडक सर्भे लगायत रहेका छन्।

-Mr.Sushil Subedi (Section Officer of KMC)

त्यस अध्ययन कार्यबाट प्राप्त हुने सूचनालाई व्यवहारिक पक्षसँग आवद्ध गर्नुपर्ने आवश्यकता महशुस गरी सडक दुर्घटना, सडक अनुशासन र जनचेतनाको यथार्थ अवस्था पहिचान गर्नका लागि सडकसँग सम्वन्धित विविध तथ्यांकहरुको संकलन गर्नका लागि खुला तस्विर प्रतिस्पर्धा गरिन लागेको छ। तस्वीर प्रतिस्पर्धाका लागि सार्वजनिक रुपमा सवैलाई आव्हान गरिसकेको जानकारी पनि अधिकृत सुवेदीले दिएका छन्।

यस किसिमको कार्यक्रम आयोजना गरी देश भरबाट सूचना संकलन गर्न सकिने एवं संकलित महत्वपूर्ण तस्वीरहरुको प्रदर्शन गरी सडक सुरक्षा सम्वन्धी जनचेतना अभिवृद्धि समेत हुने जिकिर अधिकृत सुवेदीको रहेको छ।

यसबाट प्राप्त सूचनाले काठमाडौं महानगरपालिका, शहरी योजना आयोगलाई थप ट्राफिक सम्बन्धि कार्य योजना बनाउन उल्लेख्य सहयोग पुग्ने अपेक्षा गरिएको छ। सडक सचेतना संवन्धी उत्कृष्ट ५० वटा तस्वीरलाई प्रिन्ट गरेर सार्वजनिक प्रदर्शनी गर्ने तथा ती मध्ये सर्वोत्कृष्ट पाँच तस्वीरलाई विशेष सम्मान गर्ने भएको छ।
प्रकाशन मिति–२०७६ साल बैशाख १३ गते शुक्रवार ।