काठमाडौं। नेपालको एकमात्र इन्टरनेशनल एअरपोर्ट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बन्द भएको छ। कोरोना महामारीको कारण आगामी बैशाख २९ गतेसम्म सरकारले काठमाडौं उपत्यका सहित विभिन्न दर्जनौ जिल्लाहरु लकडाउनमा रहेको कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल विहीवार रातिवाट बन्द भएको हो।

आन्तरिक उडान भने यसअघि नै बन्द भएको थियो । विहीवार रातिवाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बन्द भएपनि विमानस्थल कार्यालयका अनुसार शुक्रबार ९ वटा उडान–अवतरण भएको छ।

त्यसमध्ये तीन वटा जहाज बिहीबार राति विभिन्न गन्तब्यमा पुगेर काठमाडौं फर्कन लागेका हुन्। एउटा जहाज भारतबाट तोकिएको उडानअनुसार आउँदैछ। दुई जहाज भने कार्गो लिएर काठमाडौं आउँदैछन् ।

साउदीको दमामबाट हिमालय एयरलाइन्सको जहाज काठमाडौं आएको छ। दोहाबाट नेपाल एयरलाइन्स आएको छ। जापानको नारिताबाट नेपाल एयरलाइन्स आउने तालीका रहेको छ । भारतबाट एयर इण्डियाको भने सातामा एक उडान हुने गरि पाएको अनुमति अनुसार नै काठमाडौं आएको छ।

हङकङबाट क्याथे प्यासिफिकका दुई जहाज कार्गो बोकेर काठमाडौं आउने छन् । हङकङ र दिल्लीबाट आएका यी जहाज आजै फर्कने छन्। हिमालय एयरलाइन्सको जहाज कार्गो लिन आजै चीनको कुनमिङ जानेछ। आन्तरिकतर्फ भने अहिले हेलिकोप्टरहरुले चार्टर्ड उडान गरिरहेका छन्।

बिहीबार मात्र २३ हेलिकोप्टर काठमाडौंबाट बाहिरिएका छन् । १८ हेलिकोप्टर काठमाडौं आएका छन्। बिहीबार सेनाले तीन उडान गरेको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उडान बन्द भएपनि चार्टर्ड, मेडिकल इमर्जेन्सी तथा उद्धार उडान नियमित रहने भएका कारण विमानस्थल बन्द हुने छैन ।
प्रकाशन मिति–२०७८ साल बैशाख २४ गते शुक्रवार ।