काठमाडौं। नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा चराबाट विमानहरूमा हुने जोखिम हटाउन तालिमप्राप्त पाँच शिकारीको एक टोली खटाइएको छ।

विगतमा राजदरबारमा शिकारीका रूपमा भर्ना भएका उनीहरूलाई राजतन्त्रको अन्त्यसँगै विभिन्न निकुञ्ज तथा वन्यजन्तु संरक्षण केन्द्र हुँदै हाल विमानस्थलमा खटाइएका हुन्। चराका कारण हुन सक्ने दुर्घटना रोकथाम गर्न उनीहरू विमानस्थल चालु भएको बेला काममा खट्छन्।

तर चरा धपाउन परम्परागत तथा आधुनिक उपकरण र औषधिको प्रयोग भए पनि जनशक्तिको अभावले चराका गतिविधि नियन्त्रण गर्न हम्मे परेको शिकारी टोलीका कमान्डर छिरिङ लामाले बीबीसी नेपाली सेवालाई भनेका छन्।

विमानस्थलको तीन किलोमिटर आसपास मासु र सेकुवा पसल खोल्न नपाइने भए पनि सो नियमको कार्यान्वयन हुन नसकेको विमानस्थल अधिकारीहरुको भनाई रहेको छ।
(बीबीसी नेपाली सेवाको सहयोगमा)
प्रकाशन मिति–२०७६ साल भदौ १३ गते शुक्रवार ।