चितवन। धादिङ र चितवन भएर बग्ने त्रिशुली नदीमा फोहोर फ्याँक्नेलाई कडा कारवाही हुने भएको छ। चितवनको कुरिनटारस्थित इच्छाकामना गाउँपालिकाले सूचना जारी गर्दै त्रिशुली नदी र त्यस वरपर फोहोर नफ्याँक्न आग्रहसहितको कडा निर्देशन जारी गरेको हो।

सूचनालाई अटेर गरी फोहर फ्याँकेमा प्रचलित कानूनअनुसार कारवाही गरिने गाउँपालिकाले जनाएको छ। गाउंपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङका अनुसार, गाउँपालिकालाई सफा र हरियालियुक्त बनाउनका निम्ति ‘क्लिन एण्ड ग्रिन इच्छाकामना’ अभियान सञ्चालन गरिएको छ।

गाउँपालिकाले फोहर व्यवस्थापन केन्द्र स्थापना गरेको छ । दश वर्षका लागि निजी व्यक्तिको जग्गा भाडामा लिई फोहर व्यवस्थापन केन्द्र निर्माण गरिएको पनि गाउँपालिकाले भनेको छ।
प्रकाशन मिति–२०७५ साल माघ ४ गते शुक्रवार ।