काठमाडौँ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ।

यही माघ ८ देखि ११ गतेसम्म हुने उक्त वार्षिक बैठकका दुई वटा सत्रलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयद्वारा शुक्रवार जारी विज्ञप्तिमा उल्लेख रहेको छ । पहिलोपटक प्रधानमन्त्री ओलीले सो बैठकमा सहभागिता जनाउन लागेको मन्त्रालयले भनेको छ।

स्वीट्जरल्याण्ड भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका राजनीतिक नेतृत्व तथा व्यवसायीसँग भेटवार्ता गर्ने भएको छ।

भ्रमण टोलीमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा.युवराज खतिवडा र उच्चअधिकारीहरु रहने भएका छन्। प्रधानमन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डल यही माघ १२ स्वदेश फर्कने पनि परारष्ट्र मन्त्रालयले जनाएको छ।
प्रकाशन मिति–२०७५ साल माघ ५ गते शनिवार ।