काठमाडौ। नेपाल विद्युत प्राधिकरणले आज बैशाख ३१ गते सोमवारदखि देशभर लोडसेडिङ अन्त्य भएको दाबीघोषणा गरेको छ। औद्योगिक क्षेत्रमा गरिँदै आएको तीनघण्टे लोडसेडिङ आजबाट अन्त्य गरिएपछि अब मुलुक लोडसेडिङमुक्त भएको प्राधिकरणले घोषणा गरेको हो।

खोला र नदीमा पानीको वहाव बढेसँगै रन अफ रिभर आयोजनाको उत्पादन बढेको, अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक संचालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग बिजुली भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका हुन्।

१५ वर्षपछि लोडसेडिङ सकिएको प्राधिकरणले जनाएको छ । सन् २००३ मा शुरु भएको लोडसेडिङ दैनिक १८ घण्टासम्म पुगेको थियो। प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएपछि कुलमान घिसिङको प्रयत्नमा विसं.२०७३ सालको तिहारको लक्ष्मीपूजाका दिनबाट काठमाडौं उपत्यकालगायत मुख्य शहरमा लोडसेडिङमुक्त भएको घोषणा गरिएको थियो।

प्राधिकरणले विभिन्न कारणले केहीबेरका लागि बिजुली गए पनि त्यो लोडसेडिङ नभएको प्रष्ट्याएको छ। यस्तै विद्युत प्राधिकरणले विजुलीको माग धेरै हुने बिहान र बेलुकाको सयममा सकेसम्म कम बिजुली खपत गर्न अनुरोध पनि गरेको छ ।
प्रकाशन मिति–२०७५ साल बैशाख ३१ गते सोमवार ।