ललितपुर। नेपालका शताब्दी पुरुष सत्यमोहन जोशी ९८ वर्ष पूरा भई ९९ वर्षमा प्रवेश गरेका छन् । विसं १९७७ वैशाख ३० गते ललितपुरको इखुम्बहालमा पिता शंकरदास र माता राजकुमारीका ज्येष्ठ सुपुत्रका रुपमा सत्यमोहन जोशीको जन्म भएको हो। तीन पटकसम्म मदन पुरस्कार पाउने एक मात्र स्रष्टा संस्कृतिविद् सत्यमोहन जोशी हुन् ।

जोशीले विसं २०१३ मा पहिलोपटक ‘हाम्रो लोकसंस्कृति’ कृतिका लागि मदन पुरस्कार पाएका थिए। ‘नेपाली राष्ट्रिय मुद्रा’ का लागि विसं २०१७ तथा ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थका लागि २०२८ सालमा संयुक्त रुपमा जोशीलाई मदन पुरस्कार दिइएको थियो।

विसं २०१५ मा जोशी पुरातत्व तथा संस्कृति विभागको पहिलो निर्देशक बने। जोशीले २०१६ सालमा पाँचौँ शताब्दीदेखि बीसौँ शताब्दीसम्मका मुद्राका विस्तृत विवरणसहितको ‘नेपाली मुद्रा’ नामक पुस्तक प्रकाशन गरे । भाषा, कला, संस्कृतिको संरक्षण, संवर्द्धन र विकासमा उनले महत्वपूर्ण योगदान पुर्‍याएका छन् । जोशीको योगदानको कदर गर्दै सुप्रवल गोरखा दक्षिणबाहु, विख्यात त्रिशक्तिपट्ट, आदिकवि भानुभक्तलगायत पुरस्कार र सम्मान प्रदान गरिएको छ।

काठमाडौँ विश्वविद्यालयले जोशीलाई मानार्थ विद्यावारिधिको सम्मानसमेत प्रदान गरेको छ । नेपाल सरकारले उज्ज्वल कीर्तिमान राष्ट्रदीप र शताब्दी पुरुषको सम्मान दिएको छ । जोशीले संस्कृतिको क्षेत्रमा पुर्‍याएको योगदान स्मरण गर्दै आइतबार बिहानैदेखि जोशीको निवास पाटन पुगेर सम्मान गर्नेको भीड लाग्यो।

जोशीको घरमा पुग्नेले सुस्वास्थ्य, दीर्घायु र सांस्कृतिक क्षेत्रमा अझै धेरै ज्ञान र अनुभव बाँड्न सक्ने शक्ति मिलोस् भन्ने कामना गरेका थिए । जोशीको योगदानको कदर गर्दै यसै वर्ष ललितपुर महानगरपालिकाले उनलाई चालकसहितको सवारी साधनको सुविधासमेत उपलब्ध गराएको छ।
प्रकाशन मिति–२०७५ साल बैशाख ३० गते आइतवार ।