काठमाडौ। संघीय संरचनामा मातृभाषाको पत्रकारितालाई राज्यले प्रर्वद्धन गर्ने नीति तर्जुमा गराउने उद्देश्यले यही जेठ २ गते बुधबार राजधानीमा मातृभाषा पत्रकारिता सम्मेलन हुने भएको छ। नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाल आदिवासी जनजाति पत्रकार महासंघको सहयोगमा नेपाल पर्यटन बोर्डको सभाहलमा सो सम्मेलन गर्न लागिएको हो।

सम्मेलनमा नेपाल भाषा लगायत विविध भाषाको पत्रकारिताको इतिहास, अहिले भोग्नुपरिरहेको समस्या, राज्यले गर्नुपर्ने कार्यहरु समेटिएको कार्यपत्र प्रस्तुत गरिने पत्रकार दबूका उपाध्यक्ष एवं कार्यक्रम संयोजक नृपेन्द्रलाल श्रेष्ठले भिजन संसारलाई जानकारी दिएका छन्। सम्मेलनमा प्रस्तुत कार्यपत्रलाई समेटिएर पुस्तक प्रकाशन गर्ने दबूको योजना रहेको पनि श्रेष्ठले बताए।

सञ्चार सम्बद्ध संस्था समावेशी बन्नुपर्ने र जातीय, क्षेत्रीय, लैङ्गिक हिसाबले सञ्चार गृह, समाचार कन्टेन्ट समावेशी हुनुुपर्नेसंगै मातृभाषाको पत्रकारितालाई प्रर्वद्धन गराउने दिशामा सम्मेलनले टेवा पुर्याउने पनि विश्वास पनि व्यक्त गरिएको छ।

नेपाल संवत् १०४५, वि सं १९८२ बुद्ध जयन्तीको दिन भारतको कलकत्ताबाट धर्मादित्य धर्माचार्यले (जगतमान वैद्य ) बुद्ध धर्म र नेपाल भाषा नामक पत्रिका प्रकाशन गरेपछि नेपाल भाषाको पत्रकारिता शुरुआत भएको थियो।

तीन वर्ष अघि देखि उनको जन्मजयन्तीलाई मातृभाषा पत्रकारिता दिवसका रुपमा मनाउन थालिएको पृष्ठभूमिमा सो सम्मेलन गर्न लागेको पत्रकार दबूका अध्यक्ष श्रीकृष्ण महर्जनले भनेका छन्।
प्रकाशन मिति–२०७५ साल बैशाख ३० गते आइतवार ।