–दिपक विवश आँशु
मलेसिया । धर्ती र आकाशको संगम क्षितिजमा आफ्नो सुरिलो स्वरले भाव व्यक्त गर्दै कोईलीले मिठो स्वर भर्ने गायिका हुन् कल्पना श्रेष्ठ । काठमाडौंको न्युरोडमा जन्म लिएर सानै उमेर देखि परिवारको साथमा भक्तपुरको मध्यपुरथिमि बाहाखाबजारमा बसोबास गर्दै आईरहेकी छन्।

पिता बाल मुकुन्द र माता विना श्रेष्ठको .कोखबाट जन्म लिएकी गायिका श्रेष्ठ सानै देखि गीत गाउन र पढाइमा अब्बल रहेकी छन्। उनको बुबाको चाहाना अनुरूप उनले संगीतलाई अंगालेको बताउछिन्।

त्यसो त बुबाले उनलाई डाक्टर पढाउने सपना नदेखको भने हैनन् । उनलाई बुबाले डाक्टर पढ्नलाई पनि खुब साथ सहयोग गरेकै हो,तर उनको संगीत प्रतिको मोह देखेर बुबा पछि हट्न बाध्य हुनु भयो र फलस्वरूप उनलाई संगीतमै सकृय भएर लाग्ने प्रेरणा दिनु भयो।

पेशाले कल्पना सूर्यविनायक नगरपालिका दक्षिणवाराही स्थित शंखधर स्कुलकी शिक्षिका हुन्। विगत ८ बर्ष देखि शंखधर मेमोरियल अंग्रेजी विद्यालयमा विज्ञान बिषयको अध्यापन गराउदै आएकी छन्। पर्यावरण विज्ञानमा वि.एस्सीसम्म अध्ययन गरेकी गायिका कल्पनाले अध्यापन गरेको विद्यालयबाट धेरै ठूलो साथ र सहयोग गरेको बताउँछिन्। कुनै पनि कार्यक्रमको लागि बाहिर जानु परेको खण्डमा विद्यालयले उनको बिदा स्वीकृत सहजै मिलाइदिने गरेको छ।

गत असार ३० गते उनको स्वरमा रहेको नजाउ टाढा गीतले निक्कै चर्चा पायो। गीतकार दिपक विवश आँशुको रचना र मञ्जु नकर्मीको संगीत रहेको उक्त गीतमा कलाकार,मोडल,निर्माता,निर्देशक,समाजसेवी तथा संसार क्रियशन्स् नेपालका अध्यक्ष तथा महाप्रबन्धक स्वतन्त्र संसार महर्जन र शोभा महर्जन अभिनित रहेको उक्त म्युजिक भिडियोले सांगीतिक क्षेत्रमा निकै प्रभाव जमाएको थियो।

उनको स्वरमा पहिलो रेकर्डिङ गरेको गीत भने नेपालभाषाको रहेको छ। न्हिला न्हिला मुखु स्वां होयाचोङु दु बोलको गीतबाट नेपाली सांगीतिक क्षेत्रमा होमिएकी कल्पनाले हालसम्म १ दर्जन भन्दा बढी गीत बजारमा ल्याइसकेकि छन्। त्यस्तै नेपाली आधुनिक गीत १० वटाको हाराहरीमा गाईसकेकी छन्।

करिब ३ महिना अगाडि मध्यपुरथिमिको पहिचान झल्कने र नेवारी कला संस्कृतिसंग जोडिएको नेपालभाषाको चर्चित गीत उनै कल्पना श्रेष्ठको स्वरमा रहेको छ। गीत संगीतको माध्यमबाट उनले दर्जनौ मान सम्मान पाईसकेकीछिन्।

कल्पनाको मान सम्मानः
१.संसार क्रियशन्स नेपालको आयोजनामा विश्व सिंङ्गिन कम्पिटिसन संसार अनलाइन सिंङ्गिन स्टार २०२०÷२१ को जूरी अवार्ड प्राप्त
२.तेस्रो ई.पि.सि नेपाल म्युजिक अवार्ड महिना तर्फ
३.चौथो ई.पि.सि नेपाल म्युजिक अवार्ड महिला तर्फ
४.संसार क्रियशन्स नेपाल द्वारा आयोजित विश्वको ठुलो तथा लामो नेपालभाषा म्युजिक अवार्ड २०७९ को बेष्ट उदयमान गायिकाको अवार्ड समेत जितेकी छिन्।
सपनाको दुनियाँमा रम्न नचाहेर वास्तविक जीवनको भोगाई र यथार्थसंग संगीतलाई हेरेर सिर्जना गर्नु पर्ने कुरामा कल्पनाको बिशेष जोड रहेको छ। वरिष्ठ गायिका अरूणा लामाको गायिकीबाट अत्यन्तै प्रभावित रहेको कल्पनाले निकट भविष्यमा केही नयाँ गीत ल्याउने तयारीमा रहेकी छन्।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७९ साल फागुन ७ गते आइतवार ।