काठमाडौं। निशा घिमिरे स्मृति कोषको २०७९ श्रावण १४ गते बसेको बैठकले स्थापना वर्षको निशा घिमिरे स्मृति पुरस्कार अभिनेत्री, मोडल तथा कोरियोग्राफर पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई जनही नगद २५ हजार रकम र सम्मानपत्रवाट सम्मानित गरिने भएको छ।

निशा घिमिरे स्मृति कोषका सदस्य सचिव मोहन निरौलाव्दारा जारी विज्ञप्ति अनुसार, कोषका संयोजक दुर्गानाथ दाहालको अध्यक्षतामा बसेको उक्त बैठकले उक्त सम्मान प्रदान गर्ने निणर्य गरेको हो। त्यस्तै, बैठकले नर्भिक अस्पतालका मेघा चौधरी, संचारकर्मी प्रकाश सुवेदी र नवजीवन परोपकार समाजलाई विशेष सम्मान अर्पण गर्ने पनि निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

केही वर्ष अगाडि भारतमा सडक दुर्घटनामा परेकी अभिनेत्री, मोडल निशा घिमिरेलाई नेपालमा ल्याएपछि नवजीवन परोपकार समाजको पहलमा मेघा चौधरी मार्फत नर्भिक अस्पतालमा निशुल्क उपचार भएको थियो । ५–६ महिनाको उपचार पछि उपचाररत अवस्थामा नै मोडल निशा घिमिरेको २०७८ भदौ १६ गते निधन भएको थियो । निशा घिमिरे उपचाररत अवस्थामा नै देश विदेशमा रहेका शुभेच्छुक सहृदयी दाताहरुले निशाको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोग रकम पठाएका थिए। गत वर्ष स्व. निशा घिमिरेको नाममा नवजीवन परोपकार समाज र नेपाल चलचित्र कलाकार संघको पहलमा एउटा संरक्षण कोष गठन गरिएको थियो ।

शुभेच्छुक दाता र रजतपटका संचालक संचारकर्मी प्रकाश सुवेदीको सक्रियतामा कोषमा जम्मा हुन आएको रकमलाई निशा घिमिरे दिवांगत भएपछि अक्षय कोषमा राखि प्रत्येक वर्ष दुई जना मोडल अभिनेत्रीलाई निशा घिमिरे स्मृति पुरस्कार दिने निर्णय भए वमोजिम यस वर्षको पुरस्कार समर्पण गर्ने निर्णय गरिएको जनाएको छ। हाल निशा घिमिरे स्मृति कोषमा दुर्गानाथ दाहाल, मोहन निरौला र स्व. निशा घिमिरेकी दिदी उषा घिमिरे छन् । उक्त पुरस्कार र सम्मान भदौ १६ गते एउटा समारोहको आयोजना गरि समर्पण गर्ने भएको छ।

प्रकाशन मिति–२०७९ साल साउन १८ गते बुधवार ।