काठमाडौ। नेपालका लागि अमेरिकी राजदूत अलैना बी टेप्लिट्जले नेपाल समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताएकी छन् । उनले राजनीतिक स्थिरतापछि देश आर्थिक समृद्धिमा जाने आधार तयार भएकाले यसको उपयोगमा नेपालका नेताहरू नचुक्ने विश्वास आफ्नो रहेको भनेकी छन्।

आफ्नो कार्यकाल सकेर स्वदेश फर्कनुअघि उनी नेपाली नेताहरूसितको बिदाइ भेटघाटका क्रममा व्यस्त बनेकी छन्। उनले शुक्रबार नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालसित भेट गरेकी थिइन् ।

नेपालमा रहेर काम गर्न पाउँदा निकै खुसी लागेको उल्लेख गर्दै राजदूत अलैनाले नेपालको विकासमा अमेरिकी सहयोग र साथ सधैं रहने बताइन् । उनले दाहालले शान्ति प्रक्रियामा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै नेपालको दिगो शान्तिको कामनासमेत गरिन्।

पूर्वप्रधानमन्त्री दाहालले टेप्लिट्जको कार्यकाल सफल रहेको बताए। ‘राजदूत टेप्लिट्जले बिहीबार प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासित समेत बिदाइ भेट गरेकी थिइन् ।
प्रकाशन मिति–२०७५ साल साउन ५ गते शनिवार ।