काठमाडौ। आमरन अनसनमा रहेका डा.गोविन्द केसीको समर्थनमा सडकमा उत्रिएको नेपाली कांग्रेसको भातृसंगठन तरुणदलले बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्दा शनिवार झडप भएको छ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर अगाडि बढ्न थालेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रु ग्याँससँगै लाठी प्रहार गरेको हो। डा.केसीको समर्थनमा सडकमा आएका आन्दोलनकारीलाई तितरवितर पार्ने क्रममा प्रहरीले बल प्रयोग गरेको हो।

प्रहरीले तरुण दलका कार्यकर्तालाई खेदेर विजुली बजार पुलसम्म ल्याएको थियो। प्रहरीको लाठी प्रहारबाट केही व्यक्ति घाईते समेत भएका छन्। ढुंगा प्रहारवाट प्रहरी पनि घाइते बनेका छन्।

डा.केसीको समर्थनमा मानवअधिकारवादी, विभिन्न दलका नेता कार्यकर्ता तथा स्वास्थ्यकर्मी लगायत सर्वसाधारणको सहभागिता थियो।
प्रकाशन मिति–२०७५ साल साउन ५ गते शनिवार ।