काठमाडौ। नेपालका शिक्षा सेवी तथा सवै विद्यार्थीका आदर्श शिक्षक नातिकाजी महर्जनको उच्च–सम्मान भएको छ। श्रीप्रभात माध्यमिक विद्यालय,श्रीघःविहार, काठमाडौ २०४५ एसएलसी समूहका विद्यार्थीहरुले शिक्षा सेवी महर्जनको सम्मान गरेको हो।

श्रीप्रभात माध्यमिक विद्यालयमा निरन्तर ३५ बर्ष प्रधानाध्यापक बनेर हजारौ–हजार विद्यार्थीहरुको आदर्श प्रधानाध्यापक बन्न सफल ७८ बर्षिय शिक्षासेवी महर्जनलाई श्रीप्रभात उच्च दीर्घ सेवा सम्मान–पत्रव्दारा सम्मानित गरिएको आयोजक समितिका अध्यक्ष डेविड श्रेष्ठले बताएका छन्।

सम्मानित महर्जनलाई आयोजक समितिका अध्यक्ष डेविड श्रेष्ठले दोसल्ला ओढाउनुको अलावा श्रीप्रभात उच्च दीर्घ सेवा सम्मान–पत्र प्रदान गरेर सम्मानित गरेका हुन्।

महासचिव राजु स्थापितले महर्जनलाई सरस्वतीको मूर्ति सम्मान सहित प्रदान गरे। त्यसैगरेर, उपाध्यक्ष संगीता श्रेष्ठ तथा कोषाध्यक्ष एवम् कार्यक्रम संचालिका लजुना बज्राचार्यले सवैको तर्फवाट सम्मानित महर्जनको सुस्वास्थ्य तथा दीर्घायुको कामना गरेका थिए।

कार्यक्रममा भिजन संसार डटकमका समाचार सम्पादक श्याम स्मृतले सम्मानित शिक्षासेवी महर्जनको बारेमा शव्दचित्र प्रस्तुत गर्दै शिक्षण पेशा विश्वकै उत्कृष्ट नोबल जब भएको जिकिर गरे। अरु पेशा भन्दा सवैभन्दा माथि शिक्षण पेशा भएको दावी समेत गर्दै सम्पादक स्मृतले सम्मानित महर्जन आफ्नो आदर्श शिक्षक समेत भएको खुलासा गरे।

त्यसैगरेर, काठमाडौ मोडल स्कुलका प्रिन्सिपल राजेन्द्र महर्जनले सम्मानित महर्जन आफ्नो पनि आदर्श शिक्षक भएको भन्दै उहांकै प्रेरणावाट काठमाडौ मोडेल स्कुल स्थापना गरेको सुनाए। यो स्कुलले यो बर्षवाट स्थापनाको २५ बर्षमा पाइला टेकेको समेत बताउंदै प्रिन्सिपल महर्जनले आउने बर्ष आफ्नो स्कुलले पनि यसरी नै सम्मानित महर्जनको भव्य सम्मान गर्ने घोषणा गरे।

कार्यक्रममा नेपाल शिक्षक संघ काठमाडौ जिल्लाका सभापति रविन महर्जनले यसप्रकारको सम्मानले प्रत्येक शिक्षकको हौसला तथा प्रेरणा दिने गरेको स्पष्ट पारे ।

आफूले पढाएका विद्यार्थीहरुलाई २९ बर्षपछि चोभारमा आयोजित कार्यक्रममा यसरी सवैलाई एकसाथ भेटघाट गर्न पाउंदा अत्यन्त गौरबको अनुभुति भएको बताउंदै सम्मानित महर्जनले यसरी सम्मानित हुन पाउंदा शिक्षक बन्नुको थप गौरबता महशुश भएको बताए। कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए।


प्रकाशन मिति–२०७४ साल चैत्र १८ गते आइतवार ।