ललितपुर । नेपालका शताब्दी पुरुष एवं संस्कृतिविद् डा.सत्यमोहन जोशीलाई सवारी र सुरक्षा प्रदान गरिने भएको छ। ललितपुर महानगरपालिकाले डा.जोशीलाई सवारी, इन्धन र नगर सुरक्षाकर्मको सुविधा दिन लागेको हो।

९९ बर्षका डा.जोशीलाई सार्वजनिक कार्यक्रममा ओहोर–दोहोर गर्न सजिलो होस् भन्ने उद्देश्यले नगर कार्यसमितिको बैठकले यस्तो सुविधा दिने निर्णय गरेको हो। यसबारे जानकारी दिन ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहितको टोली बिहीबार नै डा.जोशीको निवास ललितपुर–१२ बखुम्बहाल पुगेको थियो।

ललितपुर महानगरपालिकाको निर्णयको प्रशंसा गर्दै डा.जोशीले अब सार्वजनिक कार्यक्रममा सहभागी हुन सहज हुने बताएका छन्। डा.जोशीका कृति र उनले पाएका पुरस्कार, सम्मान सामग्रीलाई छुट्टै संग्रहालय बनाएर सर्वसाधारणले अवलोकन गर्नसक्ने वातावरण बनाउनेबारे पनि पहल भैरहेको ललितपुर–१९ का वडा अध्यक्ष विनोद ताम्राकारले बताए।
प्रकाशन मिति–२०७४ साल चैत्र १८ गते आइतवार ।