काठमाडौं। नेपालका ४२ जिल्लामा यो बर्ष ६ हजार २६ जनालाई डेंगी रोगको संक्रमण भएको सरकारी आँकडा खुलासा भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यो आँकडा काठमाडौंमा खुलासा गरेको हो।

गएको वैशाखदेखि असार अन्तिमसम्म तीन हजार ४३५ जनामा डेंगी देखिएको थियो। साउन १ गतेयता थप दुई हजार ५९१ मा रोगको संक्रमण देखापरेको जनाइएको छ। सबैभन्दा बढी ३ नम्बर प्रदेशमा एक हजार ९३ जनामा यो रोग देखिएको छ।

प्रदेश नम्बर–१ मा ७५३ जना डेंगीबाट प्रभावित भएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेककुमार लालले डेंगीबाट हालसम्म चारजनाको मृत्यु भएको भन्दै सबैभन्दा बढी कास्की, मकवानपुर, सुनसरी र चितवन जिल्लामा प्रभाव देखिएको बताएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा.वासुदेव पाण्डेले एक दिनमा २५० जना डेंगीको परीक्षण गर्न आउने गरेको बताए।

सो अस्पतालमा हाल ३० जना बिरामी भर्ना भएको भन्दै डा.पाण्डेले डेंगी संक्रमणको शंका लागे चिकित्सकको सम्पर्कमा आउने र झोलिलो पदार्थ खाने तथा आराम गरेमा निको हुने बताएका छन्।
प्रकाशन मिति–२०७६ साल भदौ २० गते शुक्रवार ।